आजबाट पदभार सम्हालेका दिनेश डिसी भन्छन्- आफ्नो फाइदाको लागि मलाई प्रयोग नगर्नुस्

फिल्मी फण्डा । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले सोमबार पदभार ग्रहण गरेका छन् । कार्यकक्षमा प्रवेश गर्ने बित्तिकै उनले श्रीमद् भागवत् गीतालाई ढोग्दै संस्कृतमा मन्त्रोच्चारण गरे ।

त्यसपछि पहिलो कार्यस्वरुप एक फिल्मको निर्माण इजाजत पत्रमा हस्ताक्षर गरे । मिडियालाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले आफू जागिर खान नभई काम गर्न आएको बताए ।

 डिसीले आफ्नो फाइदाको लागि आफूलाई कसैले प्रयोग नगर्न आग्रह गरेका छन् । आफूसँग भएको अन्तर्राष्ट्रिय र राष्ट्रिय सम्बन्धलाई राम्रो कामको लागि प्रयोग गर्न सकेमा व्यक्तिगत र पेसागत हितका लागि उपयोगी हुने भन्दै व्यक्तिगत प्रयोगको सट्टा सबैले मिलेर राम्रो काम गरे उद्योग पूरै फाइदामै जाने बताएका हुन् ।

उनले  भने, ‘मलाई युज नगर्नुस् , राम्रो गर्नुस् इन्डस्ट्री पूरै फाइदामा जान्छ, मसँग भएको अन्तर्राष्ट्रिय र राष्ट्रिय नेटवर्क र सम्बन्ध जुन छ ती सम्बन्धहरू यहाँहरूको गाडी चालकदेखि लिएर सदस्य सचिवज्यूसमेतले राम्रो कामको लागि प्रयोग गर्नुभयो भने व्यक्तिगत लगायत पेसागत हितका लागी पनि म उपयोगी हुन सक्छु, तर मलाई प्रयोग भएको महसुस भयो भने मेरो आमा शेर्पा हो भन्ने कुरा यहाँहरूलाई भन्न चाहन्छु ।’

साथै उनले आफू जागिर खानको लागि नभएर काम गर्न आएको उल्लेख गरे ।  उनले चलचित्र क्षेत्रलाई जिरोबाट सुरु गर्ने भन्दै अगाडि चिनेको दिनेश डिसीलाई सबैले भुल्नुपर्ने बताए ।   

लामो समयदेखि सञ्चारकर्म सहित फिल्ममा सक्रिय डिसीलाई गत बिहीबार मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको थियो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech