सेन्सरपछि आइतबारसम्म आदिपुरुष चल्ने, सोमवारदेखि के होला ?

फिल्मी फण्डा । शुक्रवारदेखि दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ विश्वव्यापी प्रदर्शन हुदैँछ । नेपालमा भन्ने बिहीवार दिउँसोसम्म फिल्म प्रदर्शन हुने नहुने टुङ्गो थिएन । कारण हो फिल्ममा समावेश एक संवाद । विदेशी फिल्ममा नेपाली वा नेपालको वारेमा गलत अर्थ वा आरोप लगाउने खालका संवादहरु प्राय समावेश भइरहेका हुन्छन् । यस वारेमा पटक–पटक फिल्म सेन्सर बोर्डलाई जनकारी गराएपनि कुनै प्रतिक्रिया दिने गरेको छैन । तर बिहीवार आदिपुरुषमा समावेश एक संवादका कारण फिल्मको सेन्सर हुन सकेन । 

आदिपुरुषमा “जानकी भारतीय छोरी हुन्” भन्ने संवाद समावेश छ । उक्त संवाद फिल्ममा रहेपछि सेन्सर बोर्डले सेन्सर प्रमाण पत्र दिन मानेन । सेन्सर बोर्डले उक्त संवादमा बिप लगाएर ल्याउन भनेर वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक मनोज राठीलाई भनेपछि उनी उक्त संवादमा बिप लगाएर पुनः सेन्सर बोर्ड पुगेका थिए ।

पुनः फिल्म हेरेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको नेतृत्वले सेन्सर प्रमाण पत्र दिए । प्रमाण पत्र पाएसँगै आदिपुरुष नेपाल भर प्रदर्शनको पूर्ण बाटो खुल्नु पर्ने हो । तर आदिपुरुष प्रदर्शनको जटिलता यतिमै सिमित भएन ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फेसबुकमा स्टाटस सेयर गर्दै तीन दिन भित्र भारतमा पनि उक्त विवादित संवाद हटाएर माफी नमागेसम्म फिल्म प्रदर्शन गर्न नदिने घोषणा गरेका छन् । आदिपुरुष मात्र हैन मेयर बालेनले उक्त संवाद हटाएर भारतीय चलचित्र आदिपुरुषले माफी नमागे सोमबारदेखि कुनै पनि हिन्दी फिल्म काठमाडौं महानगर भित्रका हलमा प्रदर्शन गर्न नदिने बताएका छन् ।

प्रभास र कृति सेननको मूख्य भूमिका रहेको आदिपुरुष रामायणको कथावस्तुमा आधारित छ । आइतबारसम्म प्रतिक्षा गर्ने र सोमबादेखि कुनै पनि हिन्दी फिल्म प्रदर्शन गर्न नदिने गरि काठमाडौं महानगरपालिका भित्रका हलहरुलाई पत्रचार गर्ने तयारी महानगरले गरेको मेयर बालेनका सचिवालयले जनाएको छ ।

फिल्म सेन्सर बोर्डको कमजोरी
बेला बखत नेपाल वारे भ्रम फैलाउने गरि भारतीय फिल्ममा अनावश्यक दृश्य वा संवाद समावेश गर्ने गरेको यो पहिलो पटक भने होईन । यस अघि पनि एक दक्षिण भारतीय फिल्ममा पाकिस्तानका रअ एजेन्टहरु नेपालको पोखरामा लुकेर बस्छन् भन्ने संवाद समावेश गरेको थियो । त्यस अघि पनि नेपाल प्रहरीलाई भारतीय एक चलचित्रले गलत रुपमा प्रस्तुत गरेको थियो ।

यस विषयमा संचार माध्यममा तिब्र आलोचना हुदाँ समेत सेन्सर बोर्डले कुनै प्रतिक्रिया दिएको थिएन । देशको अखण्डता र सार्वभौम माथी कसैले फरक टिप्पणी गर्छन् र गलत रुपमा ब्याख्या गर्छन् भने त्यस्तो फिल्म सेन्सर बोर्डले सेन्सर नगर्ने अधिकार हुन्छ । नेपालको पहिचान र चिनारीलाई फरक तरिकाले प्रस्तुत गर्ने फिल्महरु समेत सेन्सर बोर्डले रोक्न सक्छ । 

आदिपुरुषकै सवालमा सेन्सर बोर्डको ठूलो कमजोरी हुन पुगेको छ । नेपालमा जन्मेकी छोरी जानकी भारतीय छोरी हुन् भनेर संवाद समावेश गरिसकेपछि पूरा फिल्ममा उक्त संवाद हटाउन निर्देशन दिनु पर्ने र हटाएको स्वघोषणा सहितको पत्र सेन्सर बोर्डलाई प्राप्त पछि मात्र सेन्सर गर्नुपर्ने अवस्थामा सेन्सर बोर्डले उक्त संवादमा बिप लगाएकै भरमा प्रमाण पत्र दिएको छ । यस्तो कमजोरीले फेरि फेरि विदेशी चलचित्रले नेपाल माथी हस्तक्षेप गरि नै रहने निश्चित छ । किनकी आदिपुरुषको समस्या पहिलो हैन ।

अर्को तर्फ सेन्सर बोर्डले हटाएको संवाद तथा दृश्य समेत समावेश गरि फिल्म प्रदर्शन हुने गरेको तथ्य समेत बारम्बार सार्वजनिक भएको छ । यस विषयमा पनि सेन्सर बोर्डले कुनै प्रतिक्रिया दिएको छैन । सेन्सर बोर्डले फिल्म अनुगमन गर्ने जिम्मा भने चलचित्र विकास बोर्डलाई दिएको छ । एउटा निकायले सेन्सर गर्ने र अर्को निकायले अनुगमन ।

दुई निकायबिच आपसी समन्वय र सहकार्य समेत छैन । सेन्सर बोर्डले कुन–कुन दृश्य र संवाद काटिएको हो अनुगमन गर्ने विकास बोर्डका प्रतिनिधिलाई समेत थाहा हुदैंन । बिकास बोर्डका अनुगमन प्रतिनिधिले फिल्म चलेको नचलेको र दर्शकको संख्या यकिन गरेर मात्रै फर्कने गरेको छ । सेन्सर हुदाँ काटिएका संवाद वा दृश्यहरु कुन हो भनेर अनुगमनमा जाने निकायका प्रतिनिधिले थाहा नै पाउँदैनन् । जसले गर्दा निर्माता तथा वितरकहरुले काटिएको अंशहरु समावेश गरेर नै फिल्म रिलिज गरिरहेका पनि हुन्छन् । यस विषयमा फिल्म सेन्सर बोर्ड जिम्मेवार बन्नुपर्ने देखिन्छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech