फिल्मी फण्डा । ६ दशक लामो इतिहास बोकेको नेपाली चलचित्र क्षेत्रलाई नेपाल सरकारले दुई बर्ष अघि नै उद्योगको मान्यता दियो । उद्योगको मान्यता दिएपनि उद्योगको रुपमा पाउनुपर्ने सेवा, सुविधा र सहुलियत भन्ने फिल्मकर्मीले पाउन सकेका छैनन् । फिल्म उद्योगले बार्षिक रुपमा झण्डै दुई अर्बको कारोवार गर्ने गरेको छ । नेपाली र विदेशी फिल्म नेपालभर प्रदर्शन हुँदा झण्डै दुई अर्बको कारोवार भइरहेको नेपाल सरकार अन्र्तगत चलचित्र विकास बोर्डको बक्स अफिस, निर्माता संघ र चलचित्र संघको तथ्याङ्कमा देखिन्छ ।

यो कारोवार अनुसार सरकारले फिल्म उद्योगबाट २० करोड बढि कर उठाएको देखिन्छ । दर्शकले फिल्म हेर्नको लागि टिकट काँट्दा १३ प्रतिशत कर टिकट मै समावेश भएको हुन्छ । सोही अनुसार त्यो कर सरकारको राजश्व हुने गर्दछ । यसरी २० करोड बढि कर उठाउने सरकारले फिल्म उद्योगलाई बजेटमा उपेक्षा गरेको भन्दै फिल्म सम्बद्ध संघ संस्थाहरुले विरोध गरेका छन् ।
बिहीवार राजधानीमा चलचित्र पत्रकार संघ नेपालले आयोजना गरेको “बजेटमा चलचित्र उद्योग” विषयमा सम्पन्न भएको अन्र्तक्रिया कार्यक्रममा संघ संस्थाका प्रतिनिधिहरुले सरकार फिल्म उद्योगबाट पन्छिन लागेको आरोप लगाए ।

“एउटा क्षेत्र र उद्योगलाई पाखा लगाएर सरकारले सम्मुनत नेपाल निर्माणको सपना देखेको छ । यस्तो सरकार र सरकारले ल्याएको आर्थिक बर्ष २०८०÷८१ को बजेटलाई उत्कृष्ट भनिएको छ । त्यो हामी मान्न सक्दैनौं । फिल्म उद्योगका हजारौं फिल्मकर्मीलाई अर्कै देशको नागरिक जस्तो व्यवहार गर्ने र विदेशी फिल्मलाई उदार हुने गरि बजेट ल्याउने सरकारबाट धार्मिक, पर्यटन र साँस्कृतिक विचलनको प्रयास भएको छ, कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले भने ।”
विदेशी फिल्म नेपालमा आयात गर्दा लाग्ने भन्सार शुल्क पहिलेको भन्दा घटाएर १ प्रतिशत कायम गर्नु सरकार विदेशी फिल्मप्रति उदारवाद भएको उनले बताए । सरकारको यस्तो हर्कतले स्वदेश मै नेपाली फिल्म धराशायी हुने उनले बताए । चलचित्र विकास बोर्डका सदस्य सचिव टंक महतले पनि यस अघि २ प्रतिशतको अनुपातमा रहेको भन्सार शुल्क नेपाली फिल्मको प्रवद्र्धनमा सहयोग हुनेगरि कम्तिमा ५ प्रतिशत वा एकमूस्त १ लाख कायम गर्न सिफरिस गरेपनि सरकारले १ प्रतिशत कायम गरेर बजेट बक्तव्यमा ल्याउँदा अचम्मीत भएको बताए ।

कार्यक्रममा नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र नृत्य संघ, नेपाल आदिवासी चलचित्र महासंघ, नेपाल चलचित्र द्धन्द्ध कलाकार संघलगायतले सरकारले फिल्म उद्योगलाई बेवास्ता गरेको भन्दै चरणवद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन् । नेताहरुले फिल्म उद्योगलाई मनोरञ्जनको एउटा माध्यमको रुपमा मात्र हेरेको फिल्मकर्मीको भनाई थियो ।
बजेटमा दोलखाको फिल्मसिटी र बनेपामा इन्डोर स्टुडियो नीजि लगानीको सहकार्यमा निर्माण गरिनेछ, भन्ने बाक्य मात्रै उल्लेख गरेको थियो ।
दोलखाको फिल्म सिटी १० बर्ष देखि यहि प्रक्रियामा रहेको कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताए । कम्तिमा दुई अर्ब बजेट लाग्ने फिल्म सिटी निर्माण गर्छु भन्ने तर बजेट चाँही बार्षिक एक करोड पनि नछुटाउने र काम शुन्य हुने योजना देखाएर सरकार पन्छिदै आएको उनले बताए । हजारौं श्रमजीवि फिल्मकर्मी, कलाकार र प्राविधिक फिल्म उद्योग बाट विस्थापित हुनुको कारण सरकारले कार्यक्रम ल्याउन नसक्नु रहेको उनले आरोप लगाए ।
बनेपामा चलचित्र विकास बोर्डले बनाउने भनिएको इन्डोर स्टुडियोको लागि पनि २५ करोड माथीको बजेट आवश्यक रहन्छ । तर सरकारले जग्गा नै प्राप्त नभएको बनेपाको इन्डोर स्टुडियो नीजि लगानीसहित निर्माण गरिने भन्दै पन्छिएर फिल्म उद्योगलाई बेवास्ता गरेको चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले बताए । “इन्डोर स्टुडियोमा सबै इन्डोर संरचनाहरु निर्माण गर्नुपर्छ । प्रविधिहरु जडान गर्नुपर्छ । अत्याधुनिक इन्डोर स्टुडियो निर्माण गर्न कम्तिमा २५ करोड बजेट आवश्यक पर्छ । सरकारले संचार तथा सूचना प्रविधि मन्त्रालयलाई ८ अर्ब ७२ करोड बजेट विनियोजन गरेको छ । त्यसबाट बोर्डले बढिमा तीन करोड पचास लाख पाउने छन्, त्यो पनि आन्तरिक कार्यक्रम र प्रशासनिक खर्चको लागि । अनि कसरी बन्छ स्टुडियो ।, – पराजुलीले भने ।”
फिल्म व्यवसायी, हलवाला र नेपाली फिल्मको प्रवद्र्धनका लागि सरकारले उचित कार्यक्रम र बजेट नदिएको चलचित्र संघका उपाध्यक्ष गोपाल काजी कायस्थले बताए । “नेपालमा जति फिल्म बन्छ, त्यसको ४ देखि ५ प्रतिशत मात्र सफल हुन्छ । बाँकीले आफ्नो लगानी समेत सुरक्षित गर्न गाह्रो छ । व्यवसायिक रुपमा जे भएपनि फिल्म उद्योगमा लगानी त भइरहेको नै छ नी । त्यो अनुसारको कर पनि सरकारले लिएकै छ । तर पनि सरकारले फिल्म क्षेत्रलाई बेवास्ता गरेको छ । यसमा सबै एक भएर आन्दोलन गनुपर्छ ।, – कायस्थले भने ।”
फिल्मकर्मी र पत्रकारहरुको उत्तर दिने क्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्म उद्योगलाई पहिलेदेखि नै सरकारले उपेक्षा गर्दै आएको स्विकारे । “फिल्म सम्वद्ध संघ संस्थाहरुलाई कार्यक्रम माग गरेर हामीले पठाएका थियौं । बजेटमा ती केही कुरा आएन । संचार मन्त्रालयले गत बर्षको बजेट भन्दा १० प्रतिशत कम गरेर कार्यक्रम पठाउनु भने पनि राष्ट्रिय स्तरको योजना र संघ संस्थाको कार्यक्रमलाई छुट्टै पठाएको र बोर्डको आन्तरिक तर्फ समेत ८ करोड बढिको कार्यक्रम पठाएको थिएँ ।, उनले भने ।”
गतबबर्ष मन्त्रालयबाट ३ करोड ९० लाख प्राप्त भएको उनले बताए । यो बर्ष कम पठाउनु भन्दा पनि बढि पठाएको र आन्तरिक बजेट आईनसकेको उनले बताए । फिल्म उद्योगको विकास र अन्र्तराष्ट्रिय करण किन भएन भनेर प्रश्न गर्ने आफु बोर्डमा पुग्दा अच्चमित भएको भन्दै चलचित्र नीति पास नभएसम्म सरकारले सधै फिल्म उद्योगलाई उपेक्षा नै गरिरहने पनि उनले बताए । बजेटमा उपेक्षा भए लगतै मन्त्रालय पुगेर मन्त्री रेखा शर्मासँग बुझ्दा मन्त्रालयबाट बजेट अर्थ मन्त्रालयमा पठाउँदा त्यहि काटिएकोले संशोधनको लागि प्रयास भइरहेको पनि उनले बताए ।
कार्यक्रममा आदिवासी चलचित्र संघका निवर्तमान अध्यक्ष अमृत सुनवार, नृत्य संघका अध्यक्ष जनक कार्की, द्धन्द्ध संघका अध्यक्ष नारायण प्रधान, प्राज्ञ संघका सदस्य चेतन सापकोटा, चलचित्र संघका पूर्व अध्यक्ष प्रदिप कुमार उदय, चलचित्र बिकास बोर्डका पूर्व अध्यक्ष कृष्ण मल्ल लगायतले सरकारलाई फिल्म उद्योगको महत्व थाहा नभएको र शुरुमा महत्व बुझाउन र देखाउन पर्ने भन्दै एकीकृत रुपमा आन्दोलन गर्नुपर्ने धारणा राखेका थिए ।
