फिल्मी फण्डा । नेपाली फिल्म क्षेत्रमा दयाहाङ राई स्थापित अभिनेता हुन् । पहिलो फिल्म 'लुट'बाट नै उनले आफ्नो स्थान अब्बल बनाएका थिए । यसो त त्यस अघि उनले नाटकको साथै 'मेरो एउटा साथी छ' मा समेत काम गरेका थिए । तर पहिचान 'लुट'बाट स्थापित गरे । 'लुट'देखि फिल्म 'जारी'सम्म आईपुग्दा अभिनेता दयाहाङले दर्जनौं फिल्ममा काम गरिसकेका छन् । उनका फिल्महरु नेपाली दर्शकहरुले निकै रुचाएका छन् । अधिकांश फिल्महरु हिट नै छन् । बक्स अफिस कलेक्शनमा रेकर्ड समेत राखेका छन् । तर अभिनेता दयाहाङले 'निरफूल' जस्तो फिल्म आफुले पहिलो पटक पाएको बताएका छन् ।

राजधानीमा फिल्म 'निरफूल' टिमले आयोजना गरेको कार्यक्रममा अभिनेता दयाहाङले मनले खोजेको जस्तै आफुले गर्न चाहेको फिल्म 'निरफूल' पहिलो रहेको बताएका हुन् । "समाजका कथा अनुसार फरक परिवेशका धेरै पात्रहरुको भूमिका मैले निर्वाह गरेको छु, तर एउटा कलाकारलाई जहिल्यै पनि जीवन र समाजलाई दोहोराउने खालको भूमिका भए राम्रो हुन्थ्यो जस्तो लाग्छ । धेरै फिल्ममा त्यहि हुन्छ ।
'निरफूल' भूमिकाका लागि मात्र हैन । जीवन मै सम्झन लायक एउटा फिल्मी यात्रा हो । नाटकदेखि पर्दासम्मको यात्रामा मैले अभिनय गर्न चाहेको फिल्म हो 'निरफूल', दयाहाङले भने । मेरो सबै फिल्म हेर्नुहुने दर्शकहरुले 'निरफूल' हेर्नुभयो भने उहाँहरुलाई पनि त्यहिँ लाग्नेछ । मैले अभिनय गरेको फिल्महरुमा 'निरफूल' फरक र सन्तुष्ट हुने खालको फिल्म हो, उनले थपे ।"
अभिनेता दयाहाङ फिल्म दिमाग खराबको छायाँकनका लागि पाँचखालमा थिए । एक घण्टाको पत्रकार भेटघाटका लागि आउन जान ६ घण्टा खर्चेर उनी 'निरफूल'को पत्रकार भेटघाटमा उपस्थित भए । यसैलाई प्रस्तुत गर्दै निकै महत्वका साथ आफुले हेरेको फिल्म 'निरफूल' रहेको उनले बताए । पत्रकार भेटघाट लगतै उनी पाँचखाल फर्किएका थिए ।
यहि जेठ २६ गतेबाट देशभर प्रदर्शन हुने फिल्म 'निरफूल' साहत्यिकार र कवि समेत रहेका संचारकर्मी फूलमान बलले निर्देशन गरेका हुन् । २ दशक भन्दा लामो समय चलचित्र पत्रकारितामा सक्रिय बल हाल नेपाल टेलिभिजनका महाप्रबन्धक छन् ।
हिमाली ठाउँ रुवी भ्यालीमा भूकम्पको प्रभाव र यसले दिने क्षतिको वारेमा फिल्ममा प्रस्तुत गरिएको छ । अभिनेता दयाहाङले गरिब परिवारको एक जिम्मेवार अभिभावकको भूमिका निर्वाह गरेका छन् । विदेशमा कर्म गरिरहेका दयाहाङ भूकम्पमा आफ्नो छोरी हराएपछि खोज्न उनले गरेको संघर्ष र नेपाली राजनीतिक विकृती तथा कर्मचारी प्रणालीलाई फिल्ममा व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरिएको निर्देशक बलले बताए ।
२०७५ मा निर्माण भएको फिल्म कोरोना महामारीका कारण प्रदर्शन रोकिएको थियो । फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायतको अभिनय रहेको छ ।
नेपाल म्यान्मार फ्रेन्डसीप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको यो फिल्ममा डोमा सोनाम कार्यकारी निर्माता छन् । यस्तै दीपक श्रेष्ठ (युके), माया केसी (युएई), इन्द्र तामाङ (अमेरिका) उदय लामा (जापान), चन्द्रमाया लामा (इजरायल), दिनेश लामतरी मगर (कोरिया)सँगै नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, विके श्रेष्ठ, तेन्जिन सोनम लामा, गणेश थापा, अशोक थापा लगायत निर्माता फिल्ममा छन् ।' निरफूल'को पटकथा सचिन घिमिरे र निर्देशक फुलमान बलले लेखेका हुन् । जसमा प्रमोद कार्कीको छायाँकन, निमेश श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्र कुमार दोङको संगीत रहेको छ । फिल्मको गीतमा राजेश पायल राई, प्रमोद खरेल र दुर्गा खरेलले स्वर रहेको छ ।