चलचित्र पत्रकारिता रजत वर्षः सात चलचित्र पत्रकारलाई पुस्कृत गर्दै भव्य रुपमा सम्पन्न

फिल्मी फण्डा । चलचित्र पत्रकार संघ नेपालले २३ औं चलचित्र पत्रकारिता दिवस तथा संघको २५ औं वार्षिक उत्सब (रजत वर्ष) मनाएको छ । उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठको प्रमुख आतिथ्यामा चलचित्र पत्रकार संघले विविध कार्यक्रम गरि काठमाडौमा २५ औं वार्षिक उत्सब  मनाएको हो । 

सोही समयमा चलचित्र पत्रकारितामा योगदान दिने पत्रकारहरु सोमबार राजधानीमा सम्मानित तथा पुरस्कृत भएका छन् । चलचित्र पत्रकारिता दिवसको अबसर पारेर चलचित्र पत्रकार संघले उनीहरुलाई सम्मानित तथा पुरस्कृत गरेको हो । उपप्रधानमन्त्री महासेठले चलचित्र पत्रकारहरुलाई संघका तर्फबाट सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।

समारोहमा यो वर्षको चलचित्र पत्रकारिता रजत सम्मान २०८१ बाट नेपाल समाचारपत्र दैनिक तथा कामना मासिकका पत्रकार विदूर गिरीलाई सम्मानित गरिएको छ । उनलाई ५५ हजार ५५५ रुपैयाँसहित सो सम्मान प्रदान गरिएको हो ।


यस्तै चलचित्र पत्रकारिमा डेढ दशक भन्दा लामो योगदान दिएका दुई जना चलचित्र सो समारोहमा यो वर्षको राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत भए । जनही ५१ हजार रुपैयाँ सहित न्युज २४ टिभीका चलचित्र पत्रकार सुरज खड्का र स्वतन्त्र चलचित्र पत्रकार अशेषअधिकारी राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत भएका हुन् ।

यसैगरी यसपटक राष्ट्रिय चलचित्र पत्रकारिता सम्मानबाट दुई पत्रकार सम्मानित भएका छन् । कलाकर्मी डटकमका पत्रकार कृष्ण भट्टराई र न्युज २४ टिभीका चलचित्र पत्रकार राज श्रेष्ठलाई समारोहमा यो सम्मानबाट सम्मानित गरिएको हो ।

दाङमा रहेर सक्रिय रुपमा चलचित्र पत्रकारिता गर्दै आएका शिब पुन यसपटक यो वर्षको राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत भए । उपप्रधानमन्त्री महासेठले उनलाई पुरस्कारबापत २५ हजार रुपैयाँ र पुरस्कारपत्र सो समारोहमा प्रदान गरे ।

यसैगरी सोही समारोहमा २५ हजार रुयैयाँ राशी सहित यो वर्षको चलचित्र पत्रकारिता पुरस्कार युवा पत्रकार मदन रिजाललाई प्रदान गरियो । उनी एम एन्ड एम अनलाईन तथा च्यानलमा कार्यरत छन् । बिगतमा यो पुरस्कार बापत ल्याप्टप प्रदान गरिने भए पनि गत वर्षबाट ल्याप्टपको सट्टा पुरस्कार स्वरुप २५ हजार नगद प्रदान गरिएको हो ।

 संघको स्थापना भएको २५ औं वार्षिक उत्सबको अबसर पारेर सोमबार समारोहमा केही सिने सञ्चारकर्मीलाई रजतवर्ष सम्मान पनि गरियो । समारोहमा पत्रकारहरु सिधाखबरका सम्पादक तथा मकवानपुरका चलचित्र पत्रकार मणिराज गौतम, ब्युटी न्युज नेपालकी चलचित्र पत्रकार जयन सुब्बा मनन्धर, नारी टिभीका रञ्जन खनाल, नेपाल लाईभका डिबी खड्का सहित रँग पत्रकार शिल्पा अधिकारी, रविन्द्र खड्का, अमृत पुडासैनी र दीपक बिष्ट रजतबर्षको अबसरमा सम्मानित भए ।

समारोहका विशेष अतिथिहरुमा नेपाली चलचित्रकी प्रथम अभिनेत्रीद्धय भुवन चन्द, बसुन्धरा भुसाल, नेपाल चलचित्र संघका बरिष्ट उपाध्यक्ष गोपालकाजी कायस्थ, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, फोनिजका अध्यक्ष गजुरधन राई, चलचित्र तथा पत्रकारिता क्षेत्रका विभिन्न संघ संस्थाका पदाधिकारी तथा सिनेकर्मीहरु थिए ।

एक अर्कालाई केक खुवाउँदै चलचित्र पत्रकारहरुले संघको रजतवर्षको शुभकामना एक आपसमा आदन प्रदान गर्दै चलचित्र पत्रकारिता दिवस समारोह भव्य रुपमा समापन भएको थियो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech