फिल्म गोर्खा वारियरको धरानमा ऐतिहाँसिक प्रिमियर हुँदै

फिल्मी फण्डा । रिलिज मिति नजिकिँदै गएको ऐतिहाँसिक अन्तर्राष्ट्रिय फिल्म गोर्खा वारियरको धरानमा ऐतिहाँसिक प्रिमियर हुने भएको छ । ११ फागुनबाट रिलिज हुने यो फिल्मको त्यस अघि ५ फागुनमा धरानमा ऐतिहाँसिक प्रिमियर गर्न लागिएको हो । प्रिमियर आयोजक समितिले धरानको अहिलेसम्मकै बिशिष्ट प्रिमियरको रुपमा गोर्खा वारियरको ऐतिहाँसिक प्रिमियर गर्न लागेको जनाएको छ ।  

धरानको प्रिमियरबारे यो फिल्मका निर्देशक मिलन चाम्सले भने,‘पूर्व बृटिस आर्मी तथा बृटिस आर्मीहरुको धेरै बसोबास भएको धरानमा हामीलाई प्रिमियरको लागि बारम्बार आग्रह आएका कारण हामीले त्यहाँ प्रिमियर गर्न लागेका हौं । धरानको प्रिमियर ऐतिहाँसिक बनाईने र त्यसमा पूर्व पाँचथर, इलाम, झापा। मोरङ, सुनसरी, उदयपुरका पूर्व बृटिस आर्मीहरु सहभागी हुने तयारी गरिरहनु भएको छ ।’

सो प्रिमियरको आयोजनाबारे उनले थपे,‘प्रिमियरको लागि हामीले यही २३ गते धरानमा पत्रकार सम्मेलन गरेर सो क्षेत्रमा थप जानकारी गराउँदैछौं । ऐतिहाँसिक प्रिमियर तयारी समितिले एक दर्जन भन्दा बढी विभिन्न जातजातिको जातीय पोशाक र बाजागाजा सहित गोर्खा वारियरको ब्यारन बोकेर धरान शहरमा र्याली गरेर सो टोली प्रिमियरमा सहभागी हुनेछ ।’  अन्य शहरबाट पनि र्याली सहित प्रिमियरमा बृटिस आर्मीहरु आउने पनि उनले जानकारी गराए ।

सो प्रिमियरमा बृटिस गोर्खा आर्मीसँगै नेपाल आर्मी, शसस्त्र प्रहरी बल, नेपाल प्रहरीका उच्च पदाधिकारीहरु, विभिन्न सरकारी निकायका उच्च पदाधिकारीहरु, स्थानीय सरकारका प्रमुखहरु एवम् त्यहाँका विशिष्ट व्यक्तित्वहरु सहभागी हुने पनि चाम्सले जनाएका छन् । उनका अनुसार नेपालको लागि यो पहिलो प्रिमियर भएकाले यसलाई ऐतिहाँसिक तुल्याईने छ । धरान यसपछि अन्य शहरमा पनि यस्तै प्रिमियर गरिने र सोबारे केही दिन भित्रै जानकारी गराउने पनि निर्देशक चाम्सले जानकारी गराए ।

यस अघि गोर्खा वारियरको बेलायतमा ऐतिहाँसिक रेडकार्पेट प्रिमियर सम्पन्न भएको थियो । हलिउड फिल्मको प्रिमियर केन्द्र मानिएको लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा गत भदौ २४ गते अन्तराष्ट्रिय ऐतिहाँसिक प्रिमियर गरिएको थियो । सो प्रिमियरमा दर्शकको व्यापक प्रसँसा पाएपछि नेपालसहित विभिन्न देशबाट यो फिल्मको प्रिमियरको लागि उच्च माग बढेको छ । यसै क्रममा ५ फागुनमा धरानमा प्रिमियर गर्न लागिएको निर्देशक चाम्सले जानकारी गराएका छन् ।

गत साता यो फिल्मको ट्रेलर रिलिज गरेपछि गोर्खा वारियरको ‘हाईप’ ह्वात्तै बढेको छ । त्यसो त हालै गोर्खा वारियरले हालै ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस्’ (बाफ्टा) अवार्डका लागि प्रवेश पाएपछि यसको चर्चा त्यत्तिकै बढेको थियो ।
गोर्खा वारियर नेपाली, हिन्दी, अँग्रेजी र कोरियनगरी चार भाषामा निर्माण भएको छ । यो फिल्मको नेपाली संस्करण तयार भईसकेको छ भने हिन्दी, कोरियन र अँग्रेजी सँस्करणको निर्माण पनि अन्तिम अबस्थामा पुगेको छ ।

गोर्खा वारियरमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन रहेको छ । यसमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुले अभिनय गरेका छन् । यही फिल्मबाट नायकमा डेब्यु गरेका रितेस चाम्स आफैं बृटिस गोर्खा आर्मीसँगै पाईलट पनि हुन् ।  

यो फिल्म लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । गोर्खा वारियरको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यसको कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् ।

यो फिल्मको गीत शैलेन्द्र खनाल ‘शरद’ले लेखेका हुन भने सो गीतमा एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ । फिल्मलाई राजेन्द्र मोक्तानको रंग संयोजन गरेका छन् । यो फिल्ममा हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech