काठमाडौँमा ‘मिसेस् वर्ल्ड’ कौशल

फिल्मी फण्डा ।‘मिसेस् वर्ल्ड २०२२’ सरगम कौशल काठमाडौँ आएकी छन् । ‘मिसेस् नेपाल वर्ल्ड २०२३’को फाइनलमा अतिथिको रूपमा सहभागी हुन उनी शनिवार साँझ नेपाल आएकी हुन् । उनलाई मिसेस् नेपाल वर्ल्ड आयोजक संस्था रिबन इन्टरटेनमेन्टका निशुकान्त झा र अफिसियल कोरियोग्राफर अश्विनीकान्त झा सहित ‘मिसेस् नेपाल वर्ल्ड २०२२की विजेता दीक्षा केसीले स्वागत गरेका थिए ।

काठमाडौँ उत्रिएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले पहिलो पटक नेपाल आएको बताइन् । ‘सगरमाथाको देशमा मलाई निम्त्याएकोमा ‘मिसेस् नेपाल वर्ल्ड २०२३’का आयोजकलाई धन्यवाद छ’, उनले भनिन् ‘ मलाई नेपाल र भारत सहोदर दिदीबहिनी जस्तो लाग्छ ।’ नेपाल आएको समय नेपालका धार्मिक स्थल र पर्यटकीय क्षेत्रको समेत भ्रमण गर्ने आफ्नो योजना रहेको उनले सुनाइन् ।‘मिसेस् वर्ल्ड’ विश्वभरमा विवाहित महिलाहरूको सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिता हो । सन् १९८४ देखि सुरु भएको ‘मिसेस् नेपाल वर्ल्ड’ नेपालको प्रतियोगिता सन् २०१५ देखि रिबन इन्टरटेनमेन्टले आयोजना गर्दै आएको छ ।

प्रतियोगिताको फाइनल कार्तिक २२ गते कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा हुँदै छ । प्रतियोगिताको यो संस्करणमा आइना गजुरेल, देवी थापा गुरुङ, पृथ्वीया थापा, मिना भट्टराई, आयुष्मा राई, रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिर्जना केसी, पविना श्रेष्ठ, सीता सुवेदी, सुष्मिता सिंह, निशा विष्ट, कृतिका पालिखे, कोमल लामा, रेखा सिंह रायमाझी, निर्मला गुरुङ, उत्सुकता नकर्मी, जेनी खड्का, सलोनी श्रेष्ठ, पुनम श्रेष्ठ, टेककुमारी घले, मङ्गली सिलवाल र सरु आरएल राणा सहभागी छन् ।

कौशलले सबै प्रतियोगीसँग अन्तर्क्रिया समेत गर्ने छिन् ।विजेताले आगामी २०२४ को जनवरीमा अमेरिकाको लसभेगासमा हुने ‘मिसेस् वर्ल्ड’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् भने मिसेस् इन्टरनेसनल नेपाल र एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२४ मा सिंगापुरमा हुने मिसेस् इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउनेछन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech