काठमाडौं। अभिनेता जितु नेपाल यही कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘पाँच पाण्डव’मा भीमसेनको चरित्रमा देखिँदैछन्। फिल्मको ट्रेलरमा अभिनेता हरिवंश आचार्यले जितुलाई ‘भीम’ भनेर बोलाउँदा उनले ‘म त भीमसेन हो’ भनेको दृश्य समावेश छ। यही दृश्यपछि जितु कसरी भीम बने भन्ने चर्चा पनि भइरहेको छ।
महाभारतमा भीम पाँच पाण्डवमध्ये सबैभन्दा बलिया पात्रका रूपमा चिनिन्छन्। तर ‘पाँच पाण्डव’मा जितुको चरित्र परम्परागत भीमभन्दा फरक छ। उनी आफूलाई पूर्ण रूपमा भीम नभई पाण्डवको एउटा अंशका रूपमा प्रस्तुत गरिएको बताउँछन्।
‘भीमभन्दा सबैले ठूलो चरित्र बुझ्छन्। तर फिल्ममा मेरो चरित्र पनि रमाइलो छ। किनभने यो ठ्याक्कै पाँच पाण्डवको कथा होइन,’ जितु भन्छन्, ‘स्वर्गमा रहेका युधिष्ठिर दाजुभाइबिना सुखी हुनुहुन्न। उहाँलाई चार भाइको सम्झना आउँछ। ५१ सय वर्षपछि पनि कुनै न कुनै रूपमा मेरा भाइहरू जन्मिएका होलान् भनेर उहाँ चिन्तित हुनुहुन्छ। भगवानले भाइहरू नेपाल नगरीमा छन् भनेपछि उहाँ खोज्दै आउनुहुन्छ र हामीलाई भेटेर ‘तँ भीम होस्’, ‘तँ अर्जुन होस्’, ‘तँ नकुल होस्’ भनेर चिनाउनुहुन्छ। मैले आफैं भीम हुँ भनेको होइन।’
भीमको चरित्रका लागि आफूले विशेष तयारी नगरेको जितु बताउँछन्। फिल्ममा आफू इँटाभट्टाको मजदुरको भूमिकामा रहेको र निर्देशकको निर्देशन तथा कथाले मागेअनुसार अभिनय गरेको उनको भनाइ छ।
‘म पूर्ण रूपमा भीम होइन। हामी पाण्डवको एउटा अंश मात्र हौं। कल्पनामा कसैले त्यसलाई जोडेर बुझ्यो भने बेग्लै कुरा हो,’ उनी भन्छन्।
महाभारत र पाण्डवजस्ता पात्रलाई आधार बनाएर फिल्म निर्माण हुनु नै आफूका लागि खुसीको विषय भएको जितु बताउँछन्। फिल्ममा काम गर्दा भने उनलाई तीनवटा कुरा चुनौतीपूर्ण लागेछन्।
पहिलो, अभिनेत्री दीपाश्री निरौलासँग श्रीमान्–श्रीमतीको भूमिकामा देखिनु। यसअघि विज्ञापनमा सँगै काम गरे पनि फिल्ममा भीमकी श्रीमतीको भूमिका दीपाले निर्वाह गर्नु उनका लागि नयाँ अनुभव थियो। दोस्रो, अभिनेता हरिवंश आचार्यसँग पहिलोपटक पर्दा बाँड्नु। फिल्ममा युधिष्ठिरले भीमलाई सम्झाउने प्रसंगले आफूलाई फरक अनुभव दिएको उनी बताउँछन्। तेस्रो चुनौती भनेको ठूलो कलाकार समूह भएको फिल्ममा आफूलाई कसरी प्रस्तुत गर्ने र दर्शकले आफूलाई कुन रूपमा सम्झिने भन्ने थियो।
‘मैले यसअघि विज्ञापनमा दीपा दिदीसँग काम गरेको थिएँ। तर यसमा भीमको श्रीमतीको भूमिका उहाँले निर्वाह गर्नुभएको छ। त्यो नौलो अनुभव भयो। हरिवंश आचार्यज्यूसँग पहिलोपटक स्क्रिन सेयर गरेँ। युधिष्ठिरले भीमलाई सम्झाउने दृश्य पनि फरक अनुभव रह्यो,’ जितु भन्छन्, ‘पाँच पाण्डव छन्, अरू पनि धेरै कलाकार हुनुहुन्छ। यति ठूलो क्यानभास र कलाकारको समूह भएको फिल्ममा म कसरी प्रस्तुत हुने, दर्शकले जितुलाई कुन रूपमा सम्झेलान् भन्ने चुनौती थियो।’
जितु नेपालसँग जोडिएका फिल्ममा दर्शकले कमेडीको अपेक्षा गर्नु स्वाभाविक हो। उनी पनि दर्शकको यो अपेक्षा फिल्ममा केही हदसम्म पूरा हुने बताउँछन्।
‘त्यो चाहना हल्का रूपमा पूरा हुन्छ। किनभने यो एउटै मान्छेको कथा होइन, पाँच जना भाइको कथा हो। हरेक कलाकारका आ–आफ्नै पाटा र कथा छन्। कथाले र दृश्यले जति मागेको छ, त्यति नै कमेडी छ,’ उनी भन्छन्।
निर्देशक बसन्त निरौलासँग जितुले यसअघि फिल्म ‘ज्वाइँ साब’मा काम गरिसकेका छन्। लेखक सुशील पौडेलसँग पनि उनको पुरानै चिनजान छ। निर्माता नवीन श्रेष्ठसँग भने फिल्म ‘लाज शरणम्’ निर्माण हुँदादेखि नै परिचय थियो। नियमित भेटघाट र चिनजानकै क्रममा ‘पाँच पाण्डव’मा काम गर्ने कुरा अघि बढेको जितु बताउँछन्।
बसन्त निरौलाको निर्देशनमा बनेको ‘पाँच पाण्डव’मा जितुसँगै हरिवंश आचार्य, महेश त्रिपाठी, दीपाश्री निरौला, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन्। फिल्ममा सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री)को पनि अभिनय छ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्माता काली रानी श्रेष्ठ हुन्। नवीनले यसअघि ‘लाज शरणम्’ निर्माण गरेका थिए।
फिल्मको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्। लेखक पौडेलका अनुसार ‘पाँच पाण्डव’ सोसल ड्रामा हो। यसमा महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिएको छ।
फिल्मलाई श्याम तामाङले छायांकन गरेका हुन्। सुप्रिम पराजुलीको सम्पादन रहेको फिल्ममा सम्राट बस्नेत फाइट डाइरेक्टर छन्। गम्भीर विष्ट र विक्रम स्वाँरले कोरियोग्राफी गरेका छन्।
फिल्ममा अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र पुकार धिमालको भिएफएक्स रहेको छ। रोहित राज गौतम एचओपी तथा विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर छन्। फिल्ममा डल्बी एटमस साउन्डको अनुभव लिन पाइने निर्माण टिमले जनाएको छ।
फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल हो भने आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ। फिल्मका वितरक रोहित कट्टेल र रत्न श्रेष्ठ हुन्।