‘परिवार’को टिजर सार्वजनिक, कामेश्वर र लक्ष्मीको गेटअपले जन्मायो कौतुहल

काठमाडौं । अभिनेता कामेश्वर चौरासियालाई महिला र अभिनेत्री लक्ष्मी बर्देवालाई पुरुषको गेटअपमा प्रस्तुत गरिएको पोस्टर सार्वजनिक भएपछि चर्चामा आएको फिल्म ‘परिवार’को टिजर सार्वजनिक भएको छ।

रे अफ आर्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको टिजरको सुरुवात कामेश्वर र लक्ष्मीबीचको खटपटबाट हुन्छ। लक्ष्मीले कामेश्वरलाई ‘तेरो विश्वासले मेरो परिवारको केही पनि वास्ता नगरीकन म भागेर आएँ के’ भन्दै गर्दा कामेश्वरले ‘लग्जरियस लाइफ चाहिएको थियो भने पीआरवालासँग जानुपथ्र्यो कि तिमी’ भन्दै जवाफ फर्काएका छन्।

उनीहरूको संवादबाट परिवारको मञ्जुरीबिनै विवाह गरेको संकेत मिल्छ। टिजरमा छोरीको भूमिकामा देखिएकी पात्रले भगवानसँग आफ्ना बाबुआमाबीच कहिल्यै झगडा नहोस् भन्ने प्रार्थना गरेको दृश्य पनि छ।

त्यसपछि टिजरमा रोचक दृश्य देखाइएको छ। सुतेर उठेका कामेश्वर र लक्ष्मीले आ–आफ्नो शरीर छाम्दै आश्चर्य व्यक्त गरेका छन्। उनीहरू किन त्यसरी आश्चर्यमा परेका हुन् भन्ने खुल्न भने फिल्मको प्रदर्शनसम्म पर्खनुपर्नेछ।

मदन थापाको निर्देशनमा बनेको फिल्म शाही फिल्म प्रोडक्सन र विशआई फिल्मस्सँगको सहकार्यमा निर्माण भएको हो। ‘कहिले श्रीमान्को वार, कहिले श्रीमतीको वार, मिल्दै जाँदा बन्यो परिवार’ भन्ने नारा रहेको फिल्ममा कामेश्वर र लक्ष्मीसँगै विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, बारिश सोना र प्रियान्शु थापालगायत कलाकारको अभिनय छ।

फिल्मको कथा तथा लेखन प्रेम थापा र गणेश उपाध्यायको रहेको छ। निरज कँडेल डीओपी, विशेष महर्जन र जयन्द्र कुँवर छायांकन तथा एनबी महर्जन एक्सन निर्देशकका रूपमा छन्।

रमेश शाही निर्माता रहेको फिल्ममा कैलाश रावल कार्यकारी निर्माता तथा आरम्भ रिजाल सह–निर्माता छन्।

‘परिवार’ कार्तिक १३ गतेदेखि प्रदर्शनमा आउनेछ। फिल्मको टिजर म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech