मीरा राणाको एकल सांगीतिक साँझमा गुञ्जिए कालजयी गीत

 वरिष्ठ गायिका तथा संगीतकार मीरा राणाको एकल सांगीतिक साँझ आइतबार काठमाडौंमा सम्पन्न भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा राणाले आफ्नो छ दशक लामो सांगीतिक यात्राका चर्चित गीत प्रस्तुत गरिन्।

 वरिष्ठ गायिका तथा संगीतकार मीरा राणाको एकल सांगीतिक साँझ आइतबार काठमाडौंमा सम्पन्न भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा राणाले आफ्नो छ दशक लामो सांगीतिक यात्राका चर्चित गीत प्रस्तुत गरिन्।

कार्यक्रममा राणाले स्वर दिएका तथा संगीत भरेका गीतसँगै उनका विभिन्न कालखण्डका सिर्जना अन्य गायक–गायिकाले पनि प्रस्तुत गरेका थिए। शम्भुजीत बासकोटा, रामभक्त जोजिजु, कृष्णगोपाल श्रेष्ठ, योगेन्द्र उपाध्याय, छिरिङ भुटिया, कपिल लोहनी, तारा थापा, संगीता थापा शाक्य, निशा देशार, रूपी सिंह, माण्डवी त्रिपाठी, सविना कार्कीलगायतले राणाका गीत गाएका थिए। मनोहर सुनाम म्युजिक कन्डक्टरका रूपमा रहेका थिए।

प्रकाश सायमीले सञ्चालन गरेको कार्यक्रममा राणाले स्वरसम्राट नारायणगोपालसँग गाएका ‘तिमी देऊ या नदेऊ’, ‘मेरो जोवन लैजाऊ’, ‘आँखैमा कसैको तस्बिर बसेछ’ र ‘बैनीको दया छ भने’ लगायतका गीत प्रस्तुत गरिन्। शम्भुजीत बासकोटासँगका ‘नाच्देऊ मैच्याङ’ र ‘सिन्धुपाल्चोक जिल्लामा’ तथा कुमार बस्नेतसँगका ‘मादल घनघन घन्काउँ कि’ र ‘लेक फुल्यो लालीगुराँस’ पनि कार्यक्रममा गुञ्जिए।

राणाका ‘मखमली चोलो चाहिँदैन’, ‘मात चढेको साँझ’, ‘नशालु रात’, ‘मेरो पाउमा आज’, ‘साम्द सदा शिव’, ‘बिर्सिएर मैले फेरि’, ‘आजसम्म जसरी बाँचेर आएँ’ र ‘मेरो फूललाई वसन्त भयो’ लगायतका एकल गीत पनि प्रस्तुत गरिएका थिए।

क्यान्सरबाट निको भएकी राणाले क्यान्सरकै कारण पति उदयजंग राणालाई गुमाएकी छन्। क्यान्सरपीडितलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको मीरा राणा क्यान्सर समाजको कोषमा सहयोग जुटाउने उद्देश्यले एकल सांगीतिक साँझ आयोजना गरिएको हो।

कार्यक्रममा मीरा राणाको सांगीतिक योगदानको सम्मानमा उनलाई ५० हजार रुपैयाँसहित सम्मान गरिएको थियो। आयोजकले गायक कुमार बस्नेत तथा संगीतकार शम्भुजीत बासकोटा र दीपक जंगमलाई पनि सम्मान गर्ने घोषणा गरेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech