काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाको स्वरमा रहेको ‘शिव ताण्डव’ सार्वजनिक भएको छ। राणा र सरस्वती खत्रीको स्वर रहेको गीतमा सुरसुधा सुरेन्द्रको संगीत संयोजन रहेको छ।
पाटन संग्रहालयमा आइतबार साँझ आयोजित विशेष समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ‘शिव ताण्डव’ सार्वजनिक गरेका हुन्।
कार्यक्रममा राणाले ‘शिव ताण्डव’लाई भगवान् शिवप्रति समर्पित सांगीतिक अर्पणका रूपमा प्रस्तुत गरिन्। हालैको बाढी तथा पहिरोमा ज्यान गुमाएका नेपाली तथा भारतीय नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले विपत्तिबाट प्रभावित परिवारप्रति समवेदना पनि व्यक्त गरिन्।
राणाका अनुसार ‘शिव ताण्डव’ साउनमै सार्वजनिक गर्ने योजना थियो। तर, त्यतिबेला सम्भव नभएपछि अहिले सार्वजनिक गरिएको हो। उनले यो सिर्जनाले नेपाल र भारतबीचको सांस्कृतिक तथा आध्यात्मिक सम्बन्धलाई थप नजिक ल्याउने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा भारतीय राजदूत श्रीवास्तवले ‘शिव ताण्डव’ले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुर्याउने बताए। उनले भवानी राणाको व्यावसायिक तथा सांस्कृतिक योगदानको समेत प्रशंसा गरे।
राजदूत श्रीवास्तवले काठमाडौं र वाराणसीबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धको चर्चा गर्दै पशुपतिनाथ र काशी विश्वनाथसँग जोडिएका परम्पराले दुई देशबीचको सम्बन्धको गहिराइ झल्काउने बताए।
‘शिव ताण्डव’को भिडियो विकास सुबेदीले निर्देशन गरेका छन् भने शिलन लम्सालले सम्पादन गरेका छन्। भिडियोमा भवानी राणा र सरस्वती खत्रीले अभिनय गरेका छन्। कार्यक्रममा भिडियोसमेत प्रदर्शन गरिएको थियो।
कार्यक्रममा अभिनेत्री श्वेता खड्का, एनआरएनएका पूर्वअध्यक्ष उपेन्द्र महतो, रविभक्त श्रेष्ठलगायतको उपस्थिति थियो।