फिल्मी फण्डा । यस वर्षको बहुप्रतीक्षित नेपाली चलचित्र ‘छ माया छपक्कै २’ को पहिलो झलक सार्वजनिक भएको छ। पहिलो झलकसँगै निर्माण टिमले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेको छ। सार्वजनिक पोस्टरसहित निर्माण पक्षले चलचित्रलाई आगामी असोज ३१ गते फूलपातीको दिनदेखि प्रदर्शनमा ल्याउने पक्का गरेको हो।
यसअघि दशैंको अवसरमा चलचित्र रिलिज हुने जानकारी दिइए पनि निश्चित मिति सार्वजनिक गरिएको थिएन। अब भने ‘छ माया छपक्कै २’ फूलपातीदेखि नै दर्शकमाझ आउने निश्चित भएको छ।
सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराईलाई प्रस्तुत गरिएको छ। पोस्टरको केन्द्रमा दीपकराज गिरी बाँसुरी बजाउँदै देखिएका छन् भने उनको दुवैतर्फ गर्भवती अवस्थामा केकी अधिकारी र सनिशा भट्टराई प्रस्तुत छन्। पोस्टरले चलचित्रको कथा परिवार, सम्बन्ध र वैवाहिक जीवनमा आउने उतारचढावसँग जोडिएको संकेत गरेको छ।
कमेडीको माध्यमबाट सामाजिक विषयलाई उठाउँदै त्यसमा गम्भीर सन्देश मिसाउनु दीपकराज गिरीका चलचित्रको विशेषता मानिन्छ। ‘छ माया छपक्कै २’ को पहिलो झलकले पनि मनोरञ्जनसँगै पारिवारिक र सामाजिक विषयलाई केन्द्रमा राखिएको संकेत गरेको छ।
रोहित अधिकारी र दीपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्रको पहिलो भाग ‘छ माया छपक्कै’ दर्शकमाझ लोकप्रिय भएको थियो। पहिलो भागमा पानीको समस्याजस्तो सामाजिक विषयलाई कथाको केन्द्रमा राखिएको थियो।
अब भने दुई गर्भवती महिलाको दीपकराज गिरीको पात्रसँगको सम्बन्ध के हो भन्ने प्रश्नले चलचित्रप्रति कौतुहल बढाएको छ। पोस्टरले जन्माएको यही रहस्यको जवाफ भने असोज ३१ गते फूलपातीदेखि चलचित्र प्रदर्शनमा आएपछि खुल्दै जानेछ।