‘पेन्सन पट्टा’ दोस्रो सातामा प्रवेश, बढ्दो दर्शकको साथ

फिल्मी फण्डा । माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली फिल्म ‘पेन्सन पट्टा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । पहिलो सातामा दर्शकको उत्साहजनक साथ पाएको फिल्मले दोस्रो सातामा पनि विभिन्न शहरका हलमा दर्शकको साथ निरन्तर पाइरहेको छ ।

पहिलो सातामा २ करोड २५ लाख रुपैयाँभन्दा बढी ग्रस व्यापार गरेको फिल्मले दोस्रो सातामा पनि राम्रो शो पाएको निर्माण पक्षले जनाएको छ । पोखरा, चितवन, इटहरी, दमक, बुटवल, झापा, दमौली तथा काठमाडौंका अधिकांश हलमा दर्शकको संख्या बढ्दै गएको बताइएको छ ।

भूपू लाहुरे तथा पेन्सनर समुदायको जीवन, परिवार, प्रेम, त्याग, संघर्ष र सामाजिक यथार्थलाई कथाको आधार बनाइएको फिल्मले नेपाली समाजको पारिवारिक सम्बन्ध र मानवीय संवेदनालाई प्रस्तुत गरेको छ । गुरुङ समुदायको संस्कृति, परम्परा र सामाजिक जीवनलाई समेत कथासँग जोडिएको फिल्ममा मादी क्षेत्र तथा गुरुङ गाउँको परिवेशलाई पर्दामा देखाइएको छ ।

फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, स्वर्गीय सुनिल थापा, बुद्धि तामाङ, विल्सन विक्रम राई, पशुपति राई, पुष्कर गुरुङ, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङलगायत कलाकारको अभिनय रहेको छ ।

माओत्से गुरुङ फिल्मस्को ब्यानरमा बनेको फिल्ममा मिन कोन्मे गुरुङ, भोजबहादुर गुरुङ, माया गुरुङ र सपना गुरुङ निर्माता रहेका छन् । सुसन प्रजापतिको छायांकन रहेको फिल्मको सम्पादन केर डी. कोइच लिनुचले गरेका छन् ।

पहिलो सातापछि दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रिया र बढ्दो माउथ पब्लिसिटीले फिल्मप्रतिको आकर्षण थप बढाएको निर्माण पक्षको भनाइ छ । दोस्रो सातामा पनि राम्रो शो पाएकाले फिल्मको प्रदर्शन यात्रा उत्साहजनक रूपमा अघि बढिरहेको छ ।

निर्माण पक्षले फिल्मलाई माया, साथ र समर्थन गर्ने सम्पूर्ण दर्शकप्रति आभार व्यक्त गर्दै अझै फिल्म हेर्न बाँकी दर्शकलाई समय मिलाएर हलसम्म पुग्न आग्रह गरेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech