फिल्मी फण्डा । माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘पेन्सन पट्टा’ नेपालमा दर्शकको उत्साहजनक साथ पाइरहेका बेला विदेश यात्रामा समेत निस्किएको छ । नेपालमा प्रदर्शनको छैटौं दिनसम्म पनि चलचित्रले राम्रो दर्शकीय साथ पाइरहेको छ ।
भदौ २६ गतेदेखि नेपालभर प्रदर्शनमा आएको चलचित्रको विदेश प्रदर्शन अष्ट्रेलिया र स्पेनको बार्सिलोनाबाट सुरु हुन लागेको हो । बार्सिलोनामा सेप्टेम्बर २८ देखि चलचित्र प्रदर्शनमा आउनेछ । बार्सिलोनामा फ्रेन्डजी इन्टरटेनमेन्टले चलचित्र प्रदर्शन गर्न लागेको हो ।
त्यसैगरी अष्ट्रेलियाका विभिन्न शहरमा सेप्टेम्बर २१ अर्थात् देखि चलचित्र प्रदर्शनमा आउनेछ । द ब्याकअप इभेन्ट्स र डीबोइज इन्टरटेनमेन्टले अष्ट्रेलियामा चलचित्र प्रदर्शनको जिम्मा लिएका छन् । सिड्नी, एनएसडब्ल्यू, ब्रिस्बेनलगायतका शहरमा चलचित्र प्रदर्शनको तयारी गरिएको छ ।
नेपालमा प्रदर्शनको सुरुवाती दिनदेखि नै दर्शकको राम्रो साथ पाएको चलचित्रले विदेशमा रहेका नेपाली दर्शकबीच पनि चासो बढाएको निर्माण पक्षको भनाइ छ । लाहुरे जीवन, परिवार, सम्बन्ध, प्रेम, त्याग र मानवीय संवेदनालाई कथाको केन्द्रमा राखिएको चलचित्रले विदेशमा रहेका नेपाली दर्शकसँग पनि भावनात्मक सम्बन्ध स्थापित गर्ने अपेक्षा गरिएको छ ।
‘पेन्सन पट्टा’ माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको हो । चलचित्रका निर्माता मिन कोन्मे गुरुङ, भोजबहादुर गुरुङ, माया गुरुङ र सपना गुरुङ हुन् । डीबी गुरुङले प्रोडक्सन म्यानेजरका रूपमा काम गरेका छन् । चलचित्रको कथा तथा निर्देशन माओत्से गुरुङकै हो ।
चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, पशुपति राई, स्वर्गीय सुनिल थापा, पुष्कर गुरुङ, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, सुरज तमु, राज थापा कौछा, यासिली योख्खा, कुबिना गुरुङ, डीबी गुरुङ र प्रतिक्षा गुरुङलगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रले लाहुरे परिवार र त्यससँग जोडिएको सामाजिक तथा पारिवारिक संरचनालाई कथाको आधार बनाएको छ । निर्देशक माओत्से गुरुङका अनुसार ‘पेन्सन पट्टा’ केवल पेन्सनको कथा नभई पेन्सन पट्टालाई केन्द्रमा राखेर एउटा परिवारको विगत, सम्बन्ध, प्रेम, त्याग, पहिचान र सामाजिक संरचनाको कथा भन्ने प्रयास हो ।
चलचित्रको विदेश प्रदर्शन अधिकारमा यसअघि नै विभिन्न मुलुकमा चासो देखिएको थियो । बेलायत र हङकङको प्रदर्शन अधिकारसमेत बिक्री भइसकेको जानकारी सार्वजनिक भइसकेको छ ।
अब अष्ट्रेलिया र बार्सिलोनापछि अमेरिका, क्यानडा, जापान, हङकङ, बेलायत, कोरिया, युरोपका विभिन्न मुलुक तथा खाडी देशहरूमा समेत चलचित्र प्रदर्शन गर्ने तयारी रहेको निर्देशक माओत्से गुरुङले जानकारी दिएका छन् । यससँगै नेपालमा दर्शकको साथ पाइरहेको ‘पेन्सन पट्टा’ नेपाली डायस्पोरामाझ पनि पुग्ने क्रम बढ्नेछ ।
चलचित्रको छायांकन सुशन प्रजापतिले गरेका हुन् भने सम्पादन नेमिश श्रेष्ठ र केर डी। कोइच लिनुचले गरेका छन् । राजेन्द्र मोक्तानले कलर ग्रेडिङ, उत्तम न्यौपानेले साउन्ड डिजाइन, नवीन श्रेष्ठले सिन्क साउन्ड, मनोज श्रेष्ठले भिएफएक्स र राजु याक्चाले कला निर्देशन गरेका छन् । चलचित्रको देशव्यापी वितरण आरआर फिल्म्सले गरेको हो ।
नेपालमा प्रदर्शनसँगै प्राप्त भइरहेको दर्शकीय प्रतिक्रियाका बीच ‘पेन्सन पट्टा’ अब अन्तर्राष्ट्रिय बजारमा प्रवेश गरेको हो । अष्ट्रेलिया र बार्सिलोनाबाट सुरु हुने विदेश प्रदर्शनपछि अन्य देशमा समेत क्रमशः प्रदर्शन विस्तार गर्ने तयारीमा निर्माण पक्ष रहेको छ ।