फिल्मी फण्डा। माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली फिल्म ‘पेन्सन पट्टा’ ले प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकको बलियो साथ पाउन थालेको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले काठमाडौंसहित पोखरा, बुटवल, झापा लगायतका विभिन्न स्थानमा दर्शकको राम्रो उपस्थिति दर्ज गराउँदै सकारात्मक माउथ पब्लिसिटी बनाउन सफल भएको निर्माण पक्षले जनाएको छ।
पहिलो दिनको आधिकारिक बक्स अफिस तथ्यांक सार्वजनिक भइनसके पनि फिल्मको ओपनिङ औसतभन्दा राम्रो रहेको बताइएको छ। तर ‘पेन्सन पट्टा’का लागि पहिलो दिनको कमाइभन्दा महत्वपूर्ण पक्ष बनेको छ—दर्शकको प्रतिक्रिया।
शुक्रबार फिल्म हेरेका दर्शकबाट फिल्मले उत्साहजनक प्रतिक्रिया पाएको छ। सामाजिक सञ्जाल तथा दर्शक प्रतिक्रियामा फिल्मको कथा, प्रस्तुति, अभिनय र सामाजिक विषयवस्तुको प्रशंसा भइरहेको छ। अहिलेसम्म सार्वजनिक भएका प्रतिक्रियामा फिल्मप्रति सकारात्मक, सशक्त र बलियो धारणा देखिएको छ।
फिल्म हेरेका दर्शकले ‘पेन्सन पट्टा’लाई पछिल्लो समय प्रदर्शनमा आएका फिल्ममध्ये सशक्त र हेर्नलायक सामाजिक कथामा आधारित फिल्मका रूपमा चर्चा गरेका छन्। विशेषगरी परिवारसँगै बसेर हेर्न सकिने तथा नेपाली समाजसँग प्रत्यक्ष रूपमा जोडिएको विषयलाई मनोरञ्जनसँगै प्रस्तुत गरिएको भन्दै दर्शकले फिल्मको तारिफ गरेका छन्।
शुक्रबार प्राप्त दर्शक प्रतिक्रिया र त्यसबाट बनेको माउथ पब्लिसिटीको प्रभाव दोस्रो दिनको शोमा समेत देखिएको छ। शुक्रबारको प्रदर्शनपछि शनिबार फिल्मका शो थपिएका छन्। खल्तीमा देखाइएको शो संख्या १०६ बाट बढेर ११३ पुगेको छ। दर्शकको मागअनुसार शो वृद्धि हुनु फिल्मप्रति बढिरहेको चासोको एउटा संकेत बनेको छ।
त्यसमाथि शनिबार र आइतबार सार्वजनिक बिदा तथा त्यसलगत्तै तीज पर्व समेत रहेकाले आगामी दिनमा ‘पेन्सन पट्टा’ले अझ ठूलो दर्शक वर्ग पाउने अपेक्षा निर्माण पक्षले गरेको छ। पहिलो दिन फिल्म हेरेका दर्शकको सकारात्मक प्रतिक्रिया निरन्तर फैलिँदै गएमा त्यसको प्रत्यक्ष प्रभाव आगामी दिनको व्यापारमा देखिन सक्ने निर्माण पक्षको विश्वास छ।
‘पेन्सन पट्टा’ले नेपाली समाजमा देखिने तर पर्याप्त चर्चा नहुने सामाजिक यथार्थलाई कथाको केन्द्रमा राखेको छ। यही कारण फिल्मलाई सामान्य मनोरञ्जनमा मात्र सीमित नराखी समाज, परिवार र नेपाली जीवनसँग जोडिएको कथाका रूपमा दर्शकले लिएका छन्।
फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, पशुपति राई, बुद्धि तामाङ, वल्सन विक्रम राई, पुष्कर गुरुङ, सूरज तमु र माओत्से गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ।
शुक्रबारबाटै प्राप्त दर्शकीय प्रतिक्रियाले फिल्मको पक्षमा सकारात्मक वातावरण निर्माण गरिरहेको छ। यही माउथ पब्लिसिटीलाई फिल्मले आगामी दिनमा पनि कायम राख्न सके ‘पेन्सन पट्टा’को व्यापार थप बलियो बन्ने सम्भावना देखिएको छ।
त्यसैले अहिलेसम्म फिल्म हेर्न छुटाउनुभएका दर्शकका लागि ‘पेन्सन पट्टा’ अहिले हलमा पुगेर आफ्नै आँखाले हेर्नुपर्ने फिल्म बनेको छ। परिवार र समाजसँग जोडिएको कथा, कलाकारको अभिनय र दर्शकबाट प्राप्त भइरहेको सकारात्मक प्रतिक्रियाका कारण यसपटकको बिदाको समय नेपाली फिल्म ‘पेन्सन पट्टा’ हेरेर बिताउने अवसर पनि हुन सक्छ।