फिल्मी फण्डा । अभिनेता दयाहाङ राईका लागि ‘पेन्सन पट्टा’ केवल अर्को फिल्म होइन, नेपाली समाजको एउटा कम सुनिएको पाटोलाई पर्दामा ल्याउने महत्वपूर्ण कथा हो । माओत्से गुरुङको निर्देशनमा बनेको यो फिल्मलाई उनले लाहुरे परिवारको जीवन, पुस्तान्तरण, प्रेम, सम्बन्ध र जिम्मेवारीलाई नजिकबाट बुझ्ने अवसरका रूपमा लिएका छन् । यहि शुक्रवार अर्थात भाद्र २६ गतेबाट प्रदर्शन हुने ‘पेन्सन पट्टा’ वारे दयाहाङ राईले आफ्नो दृष्टिकोण सार्वजनिक गरेका हुन् ।
लाहुरे समुदायको वीरता र सफलताको कथा नेपाली समाजमा प्रशस्तै सुनिँदै आएको छ । तर अवकाशपछि उनीहरूको पारिवारिक जीवनमा आउने उतारचढाव, पेन्सनसँग जोडिएका समस्या र त्यसले परिवार तथा सम्बन्धमा पार्ने प्रभावका कथा भने कमै पर्दामा आएका छन् । यही पक्षले आफूलाई ‘पेन्सन पट्टा’तर्फ आकर्षित गरेको दयाहाङ बताउँछन् ।
“लाहुरेहरूको वीरता र सफलताको कथा त धेरै सुनिन्छ । ‘गोर्खाले यो ग¥यो, त्यो ग¥यो’ भन्ने कथा संसारभर सुनिन्छ । तर अवकाशपछि एउटा लाहुरे परिवारमा आउने समस्या र पेन्सनकै कारण उत्पन्न हुने परिस्थितिको कथा भने कमै सुनिएको छ,” दयाहाङ भन्छन्, “यही पक्षले मलाई आकर्षित ग¥यो ।”
दयाहाङका अनुसार फिल्मको सबैभन्दा बलियो पक्ष नै यसले उठाएको विषय हो । आफू लाहुरे परिवारको पृष्ठभूमिबाट नभए पनि नजिकबाट यस्तो समुदायलाई देख्दै आएको बताउँदै उनी यसलाई नेपाली समाजको एउटा महत्वपूर्ण कथा मान्छन् ।
“यो एउटा गजबको समुदायको कथा बन्न सक्छ भन्ने लाग्यो । लाहुरे परम्पराको एउटा अनौठो र अलि अँध्यारो पाटो कथाले देखाउने भएकाले मैले यो फिल्म गर्न मन गरेको हुँ,” उनी भन्छन् ।
फिल्ममा दयाहाङले निर्वाह गरेको चरित्र पनि कथाको महत्वपूर्ण हिस्सा हो । उनका अनुसार पात्र हामीले वरपर देखिरहेका र भोगिरहेका समयबाट निर्माण भएको भएकाले चरित्रमा प्रवेश गर्न धेरै कठिन भएन । तर गुरुङ समुदायको सांस्कृतिक विश्वास, मनोविज्ञान र सम्बन्धलाई बुझ्न भने अध्ययन र छलफल आवश्यक परेको थियो ।
‘पेन्सन पट्टा’लाई दयाहाङ दुई पुस्ताबीचको कथा पनि मान्छन् । फिल्ममा प्रेम र सम्बन्धसँगै एउटा पुस्ताले भोगेको समय र अर्को पुस्ताले भोगिरहेको समयबीचको अन्तर देखाइएको उनको भनाइ छ ।
“यो दुई पुस्ताको कथा हो । दुई पुस्ताका प्रेम सम्बन्धका कथाहरू पनि यसमा छन् । त्यसले समय र पुस्ताबीचको फरकलाई देखाउँछ,” उनी भन्छन् ।
फिल्मले व्यक्तिको जिम्मेवारीलाई समेत गम्भीर रूपमा उठाएको दयाहाङको बुझाइ छ । जागिर, आम्दानी र दैनिक जीवन चलाउनु मात्रै जीवनको पूर्णता नभएको भन्दै उनी जिम्मेवारीसहितको जीवन र सम्बन्धलाई फिल्मले फरक ढंगले प्रस्तुत गर्ने बताउँछन् ।
“जिम्मेवारी पूर्ण रूपमा निर्वाह गर्नु र दैनिक जीवन चलाउनुमा कति फरक हुन्छ भन्ने कुरा पनि फिल्मले महसुस गराउँछ,” दयाहाङ भन्छन् ।
उनका अनुसार ‘पेन्सन पट्टा’को अर्को विशेषता भनेको गुरुङ समुदायभित्र विवाह, प्रेम र सम्बन्धलाई हेर्ने दृष्टिकोणलाई पर्दामा प्रस्तुत गर्नु हो । विविधताले भरिएको नेपाली समाजमा एउटा समुदायले परिवार र सम्बन्धलाई कसरी बुझ्छ भन्ने कुरा फिल्मले देखाउने उनको भनाइ छ ।
निर्देशक माओत्से गुरुङसँग यसअघि पनि काम र सम्बन्धका कारण परिचित दयाहाङले उनको फिल्म निर्माण शैलीको समेत प्रशंसा गरेका छन् । माओत्सेका अघिल्ला ‘कृपा’ र ‘तिनांगा’ जस्ता फिल्म आफूलाई निकै मन परेको बताउँदै उनले ती फिल्मले भूगोल, भावना र नेपाली समाजलाई नजिकबाट नियाल्ने अवसर दिने बताए । तर ‘पेन्सन पट्टा’मा भने माओत्सेले नयाँ विषय उठाएको उनको धारणा छ ।
“मेकिङका हिसाबले उहाँले अहिले पनि राम्रो काम गर्नुभएको छ । तर कन्टेन्टका हिसाबले भने ‘पेन्सन पट्टा’ले नयाँ विषय उठाएको छ । हामीले यसअघि फिल्ममार्फत यो विषय खासै आएको देखेका छैनौँ,” दयाहाङ भन्छन् । उनी ‘पेन्सन पट्टा’लाई केवल लाहुरे परिवारको कथा भनेर सीमित गर्न नहुने बताउँछन् । एउटा परिवारको उतारचढावमार्फत एउटा समुदाय, दुई पुस्ताको सोच, सम्बन्ध र बदलिँदो सामाजिक मनोविज्ञान बुझ्न सकिने उनको भनाइ छ ।
“हामी लाहुरे समुदायलाई देखिरहेका हुन्छौँ, उनीहरूसँग संगत गरिरहेका हुन्छौँ, तर अलिकति नजिकबाट नियाल्ने मौका कमै पाएका हुन्छौँ,” उनी भन्छन्, “एउटा मानिस र एउटा परिवारको उतारचढावमार्फत त्यो समुदाय र जीवनलाई नजिकबाट बुझ्न सकिन्छ ।”
त्यसैले दयाहाङका लागि ‘पेन्सन पट्टा’ मनोरञ्जनका लागि मात्र हेर्ने फिल्म होइन । आफ्नै समाजको अर्को पाटो, पुस्ताबीचको अन्तर, प्रेम–सम्बन्ध र जिम्मेवारीलाई बुझ्न चाहने दर्शकका लागि यो छुटाउन नहुने फिल्म हो । “‘पेन्सन पट्टा’ एउटा लाहुरे परिवारको कथा मात्रै नभएर पुस्ता, सम्बन्ध, जिम्मेवारी र बदलिँदो सामाजिक मनोविज्ञानको कथा पनि हो,” दयाहाङको निष्कर्ष छ ।