फिल्मी फण्डा । नेपालको प्रतिष्ठित तथा लामो इतिहास बोकेको मोडलिङ प्रतियोगिता ‘नथिङ स्मार्टफोन मोडल हन्ट नेपाल २०२६’ को फाइनल चरणका लागि ४२ जना प्रतिस्पर्धी छनोट भएका छन्। देशभर सञ्चालन गरिएको विभिन्न अडिसनबाट २६ महिला र १६ पुरुष गरी कुल ४२ जना प्रतिभाशाली प्रतिस्पर्धीले अन्तिम चरणमा स्थान सुरक्षित गरेका हुन्।
यस वर्ष प्रतियोगिताले आफ्नो १०औँ संस्करण मनाउँदै छ। मुख्य प्रायोजकका रूपमा नथिङ स्मार्टफोन जोडिएपछि प्रतियोगिता ‘नथिङ स्मार्टफोन मोडल हन्ट नेपाल २०२६’ नामबाट आयोजना गरिएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपाल की कार्यकारी निर्देशक यतना पाण्डे ले जानकारी दिइन्।
फाइनलमा पुगेका प्रतिस्पर्धीले अब एक महिनासम्म सघन ग्रुमिङ तथा व्यावसायिक प्रशिक्षण प्राप्त गर्नेछन्। प्रशिक्षणअन्तर्गत व्यक्तित्व विकास, र्याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, फेसियल एक्सप्रेसन, फिटनेस तथा स्टेज प्रस्तुति लगायतका विषयमा अनुभवी प्रशिक्षकबाट विशेष कक्षा सञ्चालन गरिनेछ।
आयोजक संस्था नेक्स्ट मोडल्स नेपाल का अध्यक्ष रवि धमला का अनुसार प्रतियोगिताका विजेताले करिब ५ लाख रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन्। साथै आगामी सेप्टेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एन्ड मिस्टर सेलिब्रेटी इन्टरनेसनल’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि विजेतालाई प्रदान गरिनेछ।
अध्यक्ष धमलाले प्रतियोगिताको उद्देश्य केवल उपाधि वितरणमा सीमित नरही अन्तर्राष्ट्रिय मापदण्डअनुसार दक्ष, आत्मविश्वासी र व्यावसायिक मोडल उत्पादन गर्नु रहेको बताए। उनले पछिल्ला वर्षहरूमा मोडलिङप्रति युवायुवतीको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको उल्लेख गर्दै यस प्रतियोगिताले नयाँ प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्ने अवसर प्रदान गर्दै आएको बताए।
‘नथिङ स्मार्टफोन मोडल हन्ट नेपाल २०२६’ को ग्रान्ड फिनाले जुलाई २४ (साउन ८) मा भव्य रूपमा आयोजना हुनेछ, जहाँ ४२ प्रतिस्पर्धीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।