फिल्म ‘परिवर्तन’को ट्रेलर सार्वजनिक, सुशील श्रेष्ठ एक्सन अवतारमा देखिए

फिल्मी फण्डा । आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘परिवर्तन’ को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो।

सार्वजनिक ट्रेलरमा फिल्मको एक्सन–सस्पेन्स कथावस्तु, सशक्त द्वन्द्व दृश्य र पात्रहरूबीचको सम्बन्धलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ। ट्रेलरमार्फत अभिनेता सुशील श्रेष्ठ सशक्त एक्सन अवतारमा देखिएका छन् भने अभिनेत्री अञ्जना बराईलीसँगको केमेस्ट्री पनि देख्न सकिन्छ। अञ्जना प्रहरी इन्स्पेक्टरको भूमिकामा प्रस्तुत भएकी छन्।

ट्रेलरमा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेलगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ।

ट्रेलरबारे निर्देशक विजय केरुङले चलचित्रले दर्शकको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरेका छन्। उनले भने, “फिल्मको कथाअनुसार नै ट्रेलर तयार गरिएको हो। एक्सनसँगै सामाजिक सन्देश बोकेको यो चलचित्रले दर्शकलाई बाँध्ने विश्वास छ।” सत्ताका लागि नेताहरू जे सुकै गर्न पनि पछि नपर्ने यथार्थलाई चलचित्रमार्फत प्रस्तुत गरिएको उनको भनाइ छ।

दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘परिवर्तन’ मा सुशील श्रेष्ठ र अञ्जना बराईलीका साथै सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेको मुख्य भूमिका रहेको छ।
एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको यस चलचित्रको निर्देशन विजय केरुङले गरेका हुन्। दीपक शिवाकोटीको कथा तथा निर्माण रहेको फिल्मको पटकथा र संवाद शिवम् अधिकारीले लेखेका छन्।

चलचित्रमा बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत तथा द्वन्द्व निर्देशन श्री श्रेष्ठको रहेको छ। यसअघि सार्वजनिक पोस्टर, टिजर तथा ‘पाकेको चिउरी’ बोलको गीतले दर्शकमाझ चासो बढाइसकेको यस चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्दैछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech