‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक

फिल्मी फण्डा। हास्यकलाकार अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशनमा डेब्यु गरेको सिनेमा ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर आइतबार राजधानीमा एक कार्यक्रममार्फत सार्वजनिक गरिएको छ। करिब २ मिनेट ५५ सेकेन्डको ट्रेलरले फिल्मले उठाउँदै आएको मूल कथावस्तुको संकेत दिन्छ।

ट्रेलरले भ्रष्टाचार, बेथिति र राज्यप्रतिको असन्तोषका बीच एक जेनजी युवाले काठमाडौंको माइतीघर मण्डलाबाट सुरु गर्ने आन्दोलनको यात्रा प्रस्तुत गरेको झल्को दिन्छ। केही समयअघि नेपालमा चलेको जेनजी आन्दोलनसँग कथाले समानता देखाए पनि निर्देशक पाँडेको भनाइअनुसार फिल्मको छायांकन आन्दोलनअघि नै सकिएको र देखिएको मेल संयोग मात्र हो।

उच्च शिक्षा अध्ययनका लागि विदेश जाने सपना पुरा नहुँदा निराश बनेको युवाले ब्युँताएको आन्दोलनलाई ट्रेलरले प्रभावकारी रूपमा चित्रण गर्छ, जसले दर्शकमाझ उत्सुकता बढाएको देखिन्छ।

नागराज इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यस फिल्ममार्फत अभिनेता गणेश उप्रेती लामो समयपछि पर्दामा फर्केका छन्। ‘झरीपछिको इन्द्रेणी’का लागि उनी अमेरिकाबाट नेपाल आएको निर्माण पक्षले जनाएको छ। फिल्ममा रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईलगायत कलाकारको अभिनय छ।

आगामी पौष ४ गते देशव्यापी प्रदर्शन हुँदै गरेको फिल्ममार्फत विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गर्न लागेका छन्। बाल कलाकार दिप्सन चिलवाल पनि महत्वपूर्ण भूमिकामा देखिनेछन्। साथै, एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामाको विशेष उपस्थिति रहेको छ।

निर्देशक घिमिरे स्वयंले लेखेको कथामा पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले तयार पारेका हुन्। सिनेमाका छायांकार बुद्ध थापा रहेका छन्। अनिशा सेन्दाङ लिम्बु निर्मात्री हुन् भने अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह–निर्माताका रूपमा रहेका छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech