फिल्मी फण्डा। लक्ष्मण रिजालको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘काजी’ ले प्रदर्शन मिति तय गरेको छ । निर्माण टिमले आज चलचित्रको फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै रिलिज डेट चैत २७ गते लाई लक गरेको हो । यो चलचित्र आगामी नयाँ वर्षको बिदा भेट्नेगरी प्रदर्शनमा आउन लागेको छ ।
यो चलचित्रबाट निर्देशक लक्ष्मण रिजाल ८ वर्षपछि निर्देशनमा फर्किएका हुन् । आफूले खोजेजस्तै स्क्रिप्ट पाएकाले निर्देशनमा कमब्याक गरेको उनले बताए । यसअघि उनले ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’, ‘कायरा’ लगायतका चलचित्र निर्देशन गरिसकेका छन् ।
रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रको सार्वजनिक फर्स्ट लुक पोस्टरमा मुख्य पात्र विपिन कार्की चिटिक्क पारेर कोरेको कपाल र दारीमा गम्भीर मुद्रामा देखिएका छन् । पोस्टरमा केकी अधिकारी लाई पनि देख्न सकिन्छ, जसलाई विपिनले आफ्नो मुटुमा राखेको जस्तो देखाइएको छ । पोस्टरले चलचित्र पारिवारिक लभस्टोरीमा केन्द्रित रहेको अनुमान लगाउन सकिन्छ ।
चलचित्रमा विपिन र केकीसँगै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी लगायतको अभिनय छ ।
प्रदीप भारद्धाजको लेखन रहेको चलचित्रलाई चिन्तन राजभण्डारी ले खिचेका छन् भने गीतसंगीत कालिप्रसाद बास्कोटा ले तयार पारेका छन् । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रको वितरण श्रीराम बालाजी फिल्म्स ले गर्दैछ ।