फिल्मी फण्डा। मंसिर १२ गते (शुक्रबार)देखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘हर्ष’ को बुधबार ललितपुरस्थित लबिम मलमा भव्य प्रिमियर शो गरिएको छ। कार्यक्रममा स्वर्गीय निर्देशक शिव रेग्मीकी श्रीमती ज्ञानु रेग्मीसहित निर्माता, निर्देशक, कलाकार तथा सञ्चारकर्मीको उल्लेख्य उपस्थिति थियो।
लामो समयपछि नेपाली फिल्मको प्रिमियरमा उपस्थित भएकी अभिनेत्री निरुता सिंहले ‘हर्ष’ उत्कृष्ट बनेको प्रतिक्रिया दिइन्। फिल्मको सुरुवातमै स्वर्गीय शिव रेग्मीको तस्वीर देखेपछि आफू भावुक भएको बताउँदै उनले भनिन्, “यो फिल्म निकै सन्देशमूलक छ। यस्ता घटना हाम्रो घर–परिवारमा पनि देखिन्छन्, त्यसैले सबैले एक पटक हेर्नैपर्छ।”
शिव रेग्मीकी पत्नी ज्ञानु रेग्मीले भान्जी तथा डेब्यु निर्देशक एकता पौडेललाई बधाई दिँदै भनिन्, “१२ वर्षपछि भान्जीले फिल्म निर्देशनको जिम्मा लिनुभएको छ, निकै खुशी लागेको छ। शिवजीले ‘नेपाली फिल्मका मान्छे आउँदा कहिल्यै नरिसाइनु’ भन्ने गर्नुहुन्थ्यो। आज उहाँको स्मृतिदिवस पनि परेको दिनमा यो फिल्म हेर्न पाउनु आफैंमा विशेष छ।”
अभिनेता तथा व्यवसायी सञ्जोग कोइरालाले ‘हर्ष’ पारिवारिक तथा फरक अनुभव दिने खालको फिल्म भएको बताउँदै दर्शकलाई हेर्न आग्रह गरे। अभिनेत्री वर्षा राउतले प्रिमियरमा पाएको सकारात्मक प्रतिक्रियाबाट आफू उत्साहित भएको बताइन्।
फिल्मका मुख्य अभिनेता खगेन्द्र लामिछानेले पहिलोपटक फरक शैलीको भूमिकामा अभिनय गर्दा उत्सुकता भए पनि दर्शक तथा पाहुनाबाट पाएको प्रशंसाले आफू ढुक्क भएको बताए।
डेब्यु निर्देशक एकता पौडेलले बाल्यकालदेखि रहेको निर्देशन–सपना ‘हर्ष’बाट पूरा भएको भाव व्यक्त गरिन्। उनले भनिन्, “पाहुनाले मामाको झल्को दिने शैलीमा फिल्म बनेको भनी प्रशंसा गर्नुभयो। यसले आगामी दिनमा अझ राम्रो सिर्जना गर्ने जिम्मेवारी थपिएको छ। दर्शकले पनि मन पराइदिनुहुन्छ भन्ने अपेक्षा छ।”
फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय रहेको छ।
फिल्मको छायांकन आलोक शुक्ला, संगीत समीर–हिमाल, बसन्त सापकोटा र एलिश कार्का, सम्पादन लोकेश बज्राचार्य, कोरियोग्राफी सुनिल क्षेत्री र एकता पौडेलले गरेका छन्।
अष्टलक्ष्मी प्रोडक्सन्स र ई–प्राइम मुभिजको ब्यानरमा बनेको ‘हर्ष’को कथा आफैं निर्देशक पौडेलकै हो। प्रशन्न पौडेल र विकास पौडेल निर्माता हुन् भने कार्यकारी निर्माता हिक्मत चोखाल रहेका छन्। प्रोडक्सन म्यानेजर ईश्वर घिमिरे र मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन्।