चलचित्र विकास शुल्क अभिमुखीकरण तालिम सम्पन्न: २६ हलका प्रतिनिधिहरूलाई प्रविधिमैत्री प्रशिक्षण

फिल्मी फण्डा। चलचित्र विकास बोर्डले चलचित्र क्षेत्रलाई प्रविधिमैत्री र पारदर्शी बनाउने उद्देश्यसहित सञ्चालन गरेको चलचित्र विकास शुल्क अभिमुखीकरण तथा तालिम को पहिलो चरण सफलतापूर्वक सम्पन्न भएको छ । यो चरणको प्रशिक्षण मंसिर १ गतेबाट ७ गतेसम्म सञ्चालन भएको थियो ।

 

पहिलो चरणमा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश तथा बागमती प्रदेशको चितवन गरी देशभरका २६ वटा चलचित्रघर का प्रतिनिधिहरूलाई तालिम प्रदान गरिएको छ ।

 

तालिममा सहभागीहरूलाई चलचित्र विकास शुल्क पोर्टल प्रयोग विधि, डेटा अभिलेखन र प्रतिवेदन निर्माण, शुल्कको एकीकृत रेकर्ड व्यवस्थापन, तथा कार्यप्रणालीलाई सरल, व्यवस्थित र पारदर्शी बनाउने उपाय जस्ता विषयमा विस्तृत प्रशिक्षण दिइयो ।

 

अभियान: बोर्डले यस आर्थिक वर्षलाई ‘दक्ष चलचित्रकर्मी, चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष’ घोषणा गरेको छ । सोही अभियानअन्तर्गत बोर्डले आफ्नो प्रमुख आयस्रोतलाई डिजिटल र अभिलेखिकृत रूपमा व्यवस्थापन गर्न यो तालिम सुरु गरेको हो।

 

लक्ष्य: बोर्डले यो कार्यक्रममार्फत देशभरका सबै चलचित्रघरलाई अनलाइन प्रणालीमा दर्ता, शुल्क व्यवस्थापनमा दक्ष बनाई चलचित्र क्षेत्रलाई आर्थिक पारदर्शिता, राजस्व संकलन तथा सुशासनका दिशामा अगाडि बढाउने विश्वास व्यक्त गरेको छ ।

 

यो तालिम बोर्ड सदस्य गणेश प्रसाद सुवेदी र अन्य प्रशिक्षकहरूको टोलीले सञ्चालन गरेको थियो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech