फिल्मी फण्डा। दिवंगत निर्देशक शिव रेग्मी की भाञ्जी एकता पौडेल आगामी मंसिर १२ गते रिलिज हुने फिल्म ‘हर्ष’ बाट नेपाली रजतपटमा निर्देशकका रूपमा डेब्यू गर्दैछिन् । न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन र मामाको विरासतका कारण उनको डेब्यूलाई सिनेमा क्षेत्रले विशेष चासोका साथ हेरिरहेको छ ।
आफूसँग रहेका आधा दर्जनभन्दा धेरै स्क्रिप्टमध्ये उनले पारिवारिक विषयवस्तु मा आधारित ‘हर्ष’ लाई डेब्यू सिनेमाका रूपमा छनोट गरेकी हुन् ।
दर्शकले किन ‘हर्ष’ हेर्नुपर्छ भन्ने प्रश्नमा निर्देशक पौडेल भन्छिन् । "मेरो सिनेमा पारिवारिक हो, मन छुने कथा भन्न प्रयास गरेकी छु । शिव मामाले जति शतप्रतिशत दिन नसके पनि एउटा संवेदनशील विषय प्रस्तुत गर्ने कोसिस गरेकी छु ।”
उनका अनुसार फिल्मले नेपाली समाजमा वंश निरन्तरता मा अवरोध आउँदा परिवार र समाजले गर्ने प्रतिक्रिया तथा त्यसले सिर्जना गर्ने मनोवैज्ञानिक दवाब लाई उठान गरेको छ ।
"यसले उठाएको विषयमा सार्वजनिक बहस हुनु आवश्यक छ । सिनेमाले जटिल सिद्धान्तजस्तो होइन, सरल तर प्रभावकारी शैलीमा मनोरञ्जनसहित कुरा भन्छ," उनले थपिन् ।
‘हर्ष’ मा उनले नेपाली समाज, परिवारको मनोविज्ञान र परिस्थितिलाई मुख्य केन्द्रमा राखेकी छन् ।