फिल्मी फण्डा । विदेशमा हुने गरेका विभिन्न अवार्ड तथा साँस्कृतिक कार्यक्रमको नाममा अनाधिकृत रुपमा मानव तस्करी जालो फैलिरहेको विषयमा फिल्मी फण्डाले केही दिन अघि एक समाचार प्रकाशन गर्यौं।
केही महिना अघि स्टार म्युजिक भिडियो अवार्डको नाममा कति जना क्यानडा मै रहे भने विषयमा हामीले समाचार बनाएका थियौं । यस्तै क्यानडामा आयोजना हुन लागेको कार्यक्रमहरुको वारेमा पनि हामीले जानकारी दिएका थियौं ।
समाचारको प्रभाव या आयोजकको व्यवस्थापकिय कारण निकट भविष्यमै क्यानडामा आयोजना हुने भनिएको दुई कार्यक्रम हाललाई स्थगीत भएको जनाएको छ । हामी निरन्तर क्यानडा प्रकरण वारे थप विवरण खोजिरहेका थियौं ।
यहि क्रममा केही सम्बन्धित व्यक्तिहरु सम्पर्कमा आएका छन् भने केही सम्पर्क विहीन भएका छन् । कोहीले हामीसँगै क्यानडा जाने भन्दै उल्टो सम्पर्कमा आए कोही क्यानडामा यो यो जाँदै छन् भन्दै सम्पर्कमा आए ।
हामीले स्टार म्युजिक भिडियो आवर्डसँग सम्बन्धित रहेर समाचार बनाउदा ईश्वर थापा नाम पनि मेन्सन गरेका थियौं । केही दिनमा क्यानडामा रहेका ईश्वर थापा हाम्रो समपर्कमा आएका छन् । हामीले उनीसँग कुरा गर्दा आफुले क्यानडामा अलपत्र परेका कलाकारहरुको उद्धार गरेको स्विकारेका छन् ।
एक टोली कलाकारहरु क्यानडा एयरपोर्ट बाहिर आईपुगेको र आयोजक सम्पर्क विहीन भएको भन्दै आफुसँग सम्पर्कमा आएपछि आफ्नो क्रेडिट कार्डले होटल बुक गरेर सहयोग गरेको क्यानडाका थापाले बताएका छन् ।
“नेपालबाट आयोजक बनेको ग्रेटनटराज फिल्मस् हो । त्यसको अध्यक्ष अशोक बिक र अर्को एक जनाको भिषा नलागेको रहेछ । कलाकार बाहेक अरु पनि मान्छे आएका छन् भने थाहा पाएर यता क्यानडामा रहेका आयोजक र सहयोग गर्नेहरु पनि सम्पर्क विहीन भएछन् । राति ११ बजे क्यानडामै रहेका निर्देशक शंकर घिमिरेले केही कलाकारहरुको बिच्चली भएछ । सहयोग गरिदिनुस् भनेर मलाई भने । क्यानडा आईसकेको कलाकारहरु अलपत्र पर्यो रे भन्दा मैले नेपाली हुनुको नाताले उहाँहरुलाई एयरपोर्टबाट होटलमा बस्ने व्यवस्था मिलाईदिएको हुँ । मेरो संलग्नता भनेको यति नै हो ।” –ईश्वर थापाले फिल्मी फण्डासँग भने ।
अवार्ड कार्यक्रममा समेत आफु नपुगेको ईश्वर थापाले दावी गरेका छन् । उनका अनुसार क्यानडामा आयोजकको नाम नै नभएको बताइन्छ । तर क्यानडा आईपुगेपछि मदन गजमेर र हेरुका लामाले कार्यक्रमको सबै व्यवस्थापन गरेका थिए । ईश्वर थापाका अनुसार उनले होटलमा खर्च गरेको पैसा समेत यी दुबैले सबैबाट उठाएर फिर्ता गरेको उनले बताए ।
कति जना आईपुगे त क्यानडा भने फिल्मी फण्डाको प्रश्नमा ईश्वर थापाले तीन दर्जन भन्दा बढि आएको सुनेको बताए । विभिन्न चरणमा फरक फकर टोली एयरपोर्टबाट बाहिर निस्केको उनले बताए । आएका मध्ये एक टोलीलाई मात्रै आफुले होटल व्यवस्थापन गरेको पनि उनले बताए ।
आफुलाई पत्रकार बताउने ईश्वर थापा क्यानडामै रहेको रोजस च्यानल टेलिभिजनमा कार्यरत रहेको पनि उनले दावी गरे । साथै उनले आफुले पनि युट्युब च्यानल चलाईरहेको बताए । हामीले उनलाई फेरि प्रश्न गर्यौं । क्यानडामा निरन्तर आयोजकले विभिन्न कार्यक्रमको बहाना यतिमा मान्छेहरुसँग लाखौ असुलेर ल्याउँछन्, उनीहरुको बिच्चली हुँदैन ?
यहाँ विभिन्न कार्यक्रमको नाममा मान्छे ल्याउँछन् । कलाकार पाँच छ जना देखाएर दर्जनौं अरु नेपाली भाई बहिनी आउँछन् । यता काम खोजिदिनु पर्यो भन्दै नेपालीहरुसँग अनुरोध गर्छन् । कहिले अवार्ड, कहिले लाईन्स क्लबको कार्यक्रम, कहिले साँस्कृतिक कार्यक्रमको नाममा धेरै नेपाली आउछन्, उनले उत्तर दिँदै भने ।
स्टार म्युजिक भिडियो अवार्डमा पनि रोशन श्रेष्ठ, रोहित रुम्बा, कविराज गहतराज, सुश्मा अधिकारी, हेरुका लामा, टिका पुन र चम्सुरीलाई मात्रै आफुले चिनेको बताए । अब फेरि डिसेम्बरतिर एउटा अवार्ड कार्यक्रम हुँदैछ । ५० जना भन्दा बढि आउँदैछ भनेको सुनेको छु, उनले भने ।
केही कार्यक्रम स्थगीत भएपनि जिनियस म्युजिक भिडियो अवार्ड क्यानडामा सेप्टेम्बर अन्तिम या डिसेम्बर तिर हुने हामीले यस अघिको समाचारमा पनि जानकारी दिएका थियौं । यहि कार्यक्रम हो भनेर हामीले ईश्वर थापालाई सोध्दा उनले कार्यक्रमको नाम भने आफुलाई थाहा नभएको बताए । स्टार म्युजिक भिडियो अवार्डका मूख्य आयोजक भनिएका अशोक बिक र प्रशान्त गैरैको नाममा ९ बर्षको भिषा हालै लागेको पनि ईश्वर थापाले बताए ।
हामीले निरन्तर क्यानडाको समाचार बनाईरहँदा लण्डनमा एउटा फिल्म छायाँकनका लागि भन्दै दर्जनौं नेपालीहरुको भिषा अप्लाई भईरहेको भन्दै हामीलाई एउटा मेल प्राप्त भएको छ । एक नेपाली फिल्म लण्डनमा छायाँकन हुन लागेको र सो फिल्मको कलाकार एक जना मात्रै चिनिएको तर बाँकी दुई दर्जन नचिनिएकाको भिषा अप्लाई भइरहेको भन्दै मेलमा दावी गरिएको छ ।
फिल्मको निर्माण पक्ष वारे हामीले बुझ्ने प्रयास गर्दा सम्पर्क हुन सकेको छैन । मेलमा फिल्म निर्माण गर्ने कम्पनीको ३ बर्षको अडिट रिपोर्ट समेत पठाइएइएको छ । उक्त रिपोर्ट कर छलिसहित फेक भएको भन्दै दावी गरिएको छ । सोही ब्यानर र टिमले अष्ट्रेलियालगायतका देशमा पनि धेरै जनालाई लगेर अलपत्र पारेको समेत मेलमा दावी गरेको छ । यस वारेमा हामीले थप केही बुझ्ने प्रयास गरिरहेका छौं ।
यो पनि पढ्नुहोस् :
मानव तस्करीमा कलाकर्मी, महिनै पिच्छे क्यानडा र अन्य देशमा अवार्ड
स्टार म्युजिक भिडियो अवार्डमा गएका क्यानडामा अलपत्र