‘दुःखी आत्मा’ को पहिलो गीत ‘जुनी जुनी भरीलाई’ सार्वजनिक

फिल्मी फण्डा । अगामी फागुन २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दुःखी आत्मा’को पहिलो गीत ‘जुनी जुनी भरीलाई’ सार्वजनिक भएको छ। केतन क्षेत्री र मुना ठटालको स्वरमा रहेको यस गीतमा ईश्वर कार्कीको शब्द र संगीत रहेको छ। उदयराज पौडेलले गीतको एरेन्ज गरेका हुन्।

रोमान्टिक शैलीमा तयार पारिएको यस गीतमा दयाहाङ राई र आँचल शर्मालाई फिचरिङ गरिएको छ। भक्तपुर दरबार स्क्वायरमा खिचिएको भिडियोमा रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् भने आलोक शुक्लाले छायांकन र रामप्रसाद चौधरीले सम्पादन गरेका छन्।

फिल्मको टिजर र ब्रेकअप कविता पहिले नै सामाजिक संजालमा भाइरल भइसकेको छ। ब्रेकअप कवितामा टिकटक बनाउनेहरूको संख्या लाख भन्दा माथि पुगेको छ। अब यो गीतले पनि दर्शकको ध्यान तान्ने अपेक्षा गरिएको छ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा हिमाल कडरियाको लगानी छ। सुदिप ढकाल कार्यकारी निर्माता रहेको यस फिल्ममा निमेष श्रेष्ठले सम्पादन गरेका छन्।

फिल्ममा दयाहाङ राई, आँचल शर्मासहित अनुप विक्रम शाही, बुद्धि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, र लुनिभा तुलाधरको अभिनय रहेको छ।

क्लक वर्क क्रियशनको व्यानरमा निर्माण भएको यो फिल्मले यौनमा कमजोर रहेको एक पुरुषको कथा रमाइलो तरिकाले प्रस्तुत गरेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech