फिल्मी फण्डा । दक्षिण भारतको ब्लकबस्टर फिल्म ‘पुष्पा २’ ले नेपालमा सबैभन्दा धेरै कमाउने विदेशी फिल्मको रेकर्ड तोडेको छ। निर्माण कम्पनी मिथ्री मुभी मेकर्सका अनुसार, फिल्मले नेपालमा २४ करोड ७५ लाख ग्रस (नेरु) कमाएको दाबी गरिएको छ।
कम्पनीले बिहीबार सार्वजनिक गरेको पोस्टर अनुसार, यो कमाइ केवल २० दिनको व्यापार हो। कम्पनीका अधिकारीहरूका अनुसार, ‘पुष्पा २’ नेपालमा सबैभन्दा बढी कमाउने विदेशी फिल्म बनेको छ र यो फिल्म नेपाली बक्स अफिसमा एक ठूलो ब्लकबस्टरको रूपमा स्थापित भएको छ।
यो फिल्म नेपालमा भित्रिएका विदेशी फिल्महरू मध्ये सबैभन्दा महंगो हो। नेपाली वितरकले यसलाई लगभग ७ करोड मूल्यमा ल्याएका थिए।
यसअघि, नेपालमा सर्वाधिक कमाउने विदेशी फिल्मको कीर्तिमान ‘केजीएफ २’ को नाममा थियो, जसले १९ करोड २९ लाख ग्रस कमाएको थियो। ‘केजीएफ २’ अब दोस्रो स्थानमा पुगेको छ। तेस्रो स्थानमा १७ करोडको कारोबार सहित बलिउड फिल्म ‘एनिमल’ र चौथो स्थानमा साउथ फिल्म ‘बाहुबली २’ छ।
नेपालमा सर्वाधिक कमाउने फिल्मको कीर्तिमान भने ‘पूर्णबहादुरको सारङ्गी’ को नाममा छ, जसले लगभग ५० करोड कमाएको छ। त्यसपछि ‘कबड्डी ४’ (२३ करोड ५० लाख) अब ‘पुष्पा २’ को कारण नेपालमा तेस्रो स्थानमा झरेको छ।
‘पुष्पा २’ को व्यापारले नेपालमा साउथ फिल्मको बढ्दो प्रभावलाई पनि स्पष्ट पार्छ। यसले नेपाली दर्शकहरूको मन जित्न सफल भएको छ र आगामी दिनहरूमा यसले अझ ठूलो व्यापार गर्ने अपेक्षा गरिएको छ।
