‘ह्रस्व दीर्घ’ हेर्ने दर्शक भेट्न काठमाडौं आइपुगे ‘गजनी’ भिलेन

फिल्मी फण्डा । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’मा अभिनेत्री नीता ढुंगानाको बुबाको भूमिका निर्वाह गरेका भारतीय कलाकार प्रदीप रावत काठमाडौं आइपुगेका छन् ।

 फिल्मले राम्रो ओपनिङ हासिल गरेपछि नेपाली दर्शकसँग भेट गर्न उनी श्रीमती कल्याणी (साउथ अभिनेत्री)को साथमा आइतबार साँझ ७ः४५ बजे काठमाडौं ओर्लिएका हुन् । 


उनलाई फिल्मको टिमले त्रिभुवन विमानस्थलमा स्वागत गरेको थियो ।विमानस्थलबाट सीधै कमलपोखरीस्थित बिग मुभिजतर्फ लागेका छन् । त्यहाँ उनले ‘ह्रस्व दीर्घ’ हेरेका दर्शकसँग साक्षात्कार गर्नेछन् ।


 उनी आफैंले पनि फिल्म हेरेका छैनन् । आइतबार साँझ नै उनले दर्शकसँग बसेर फिल्म हेर्ने जनाइएको छ । सोमबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गर्न लागेका उनले नेपाल बसाईको क्रममा विभिन्न हल पुगेर दर्शकसँग भेट गर्नेछन् ।


प्रदीप यसअघि फिल्मको छायांकनका लागि गत पुषमा नेपाल आएका थिए । यसमा उनको महत्त्वपूर्ण भूमिका छ । उनको जेठी छोरीको भूमिकामा नीता ढुंगाना छिन् भने कान्छी छोरीको भूमिका गरिमा शर्माले निभाएकी छन् । फिल्ममा प्रदीपलाई देवधामको आदर्श पात्रको रुपमा चित्रित गरिएको छ । उनको अभिनय स्वभाविक नै लाग्छ ।


 फिल्ममा उनको ‘स्क्रिन स्पेश’ पर्याप्त छ ।प्रदीपले हिन्दी, तमिल, तेलुगु, मलायलम लगायत विभिन्न भाषाका फिल्ममा काम गरेका छन् । उनलाई दर्शकमाझ चिनाएको फिल्म भने ‘गजनी’ हो । यसमा उनी नकारात्मक भूमिकामा देखिएका थिए । उनले साउथ स्टारहरु प्रभासदेखि अल्लू अर्जुनसम्मका फिल्ममा काम गरिसकेका छन् । 


उनले विभिन्न भाषाका गरी डेढ सय बढी फिल्म गरेका छन् ।‘ह्रस्व दीर्घ’ले प्रदर्शनको दुई दिन (शुक्रबार र शनिबार) राम्रो व्यापार गर्‍यो । अझ शनिबार दर्शकको ठूलो उछाल देखियो । कम शोका कारण कतिपय हलबाट दर्शकहरु टिकट नपाउँदा घर फर्किन बाध्य भएका थिए । 


केही हलले मध्यरातमा समेत फिल्म चलाए । दुई दिनमा फिल्मले २ करोड ग्रस व्यापार गरेको वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ । आइतबार पनि देशभर प्राप्त शोमा अकुपेन्सी सुखद् देखिन्छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech