‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत ‘रैया चाँदीको’ सार्वजनिक ( भिडियो सहित )

फिल्मी फण्डा । अगामी कात्तिक १५ देखि रिलिजको तयारीमा रहेको चलचित्र  ‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत ‘रैया चाँदीको’ सार्वजनिक भएको छ । निर्माणपक्षले बिहीबार सार्वजनिक गरिएको यो गीत ‘दोहोरी ब्याटल’को रहेको छ ।

गीतमा आशिष अभिरल र मेलिना राइको स्वर छ । नवराज पन्तको शब्दरचना रहेको गीतमा आशिष स्वयंको संगीत छ ।

भिडियोमा फिल्मका मुख्य कलाकार विजय बराल, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइलीलगायत छन् ।

ब्याटलमार्फत निर्माणपक्षले फिल्मको गीतमा केही फरकपन दिन खोजेको छ । ब्याटलमा महिला र पुरुषका दुई टिम छन् । ब्याटल महिलाले राखेको सर्तसहित सुरु गरिएको छ । महिला टिमले जिते अन्जना बराइलीको घरमा विजय बराल हली बस्नुपर्ने र पुरुष टिमले जिते विजयसँग अञ्जनाले बिहे गर्नुपर्ने ब्याटलको सुरुमा सर्त छ ।

सर्तमा दुवै पक्ष मञ्जुर भएपछि सुरु हुने दोहोरी ब्याटलमा युवायुवतीको प्रेम, विवाह, घरजम, सन्तान, परिवार र सुखजस्ता पारिवारिक पक्ष समेटिएको छ । रोधीको पनि छनक यो ब्याटलमा देखिन्छ ।

ब्याटलमा महिलापक्षले हारेपछि सर्तमा मञ्जुर भएको गीत र यसको भिडियोमा देखिन्छ । तर, अन्जनाले ब्याटल जानीजानी हारेजस्तो देखिन्छ ।

केही दिन अघि सार्वजनक भएको फिल्मको ट्रेलरले आम दर्शक र फिल्मकर्मीको मन जित्न सफल भएको थियो । ट्रेलरमा गन्दर्भ समुदायको पुर्ख्यौली पेसा, दुःख, प्रेम, बिछोड र शैक्षिक अवस्थालाई देखाइएको छ । गन्दर्भ भएकै कारण उनीहरुलाई समाजले कसरी भुइँमान्छे बनाइरहेको छ भन्ने कथा ट्रेलरमा देख्न सकिन्छ ।

सरोज पौडेलको कथा तथा निर्देशन रहेको फिल्ममा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, प्रकाश सपूत, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय रहेको छ ।

सेभेन सिज सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको यो फिल्मको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन् ।

‘पूर्ण बहादुरको सारङ्गी’ गन्धर्व समुदायको जीवन र सामाजिक समस्यालाई केन्द्रमा राखेर निर्माण गरिएको सामाजिक कथावस्तुमा केन्द्रित फिल्म रहेको छ ।

संगीतकार प्रशान्त शिवाकोटीले संगीत दिएको फिल्ममा हेमन्त कान्छा रसाइलीको सारङ्गी र प्रशान्त शिवाकोटी, मेलिना राई, तथा पुष्पन प्रधानको स्वर रहेको छ । फिल्मको संवाद महेश दवाडीले लेखेका हुन् ।

Video Link 

https://youtu.be/IuedK_XpbDI?si=TYefBrZNgKWi1ljm

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech