सोनु निगम लाइभ कन्सर्ट गर्न नेपाल आउदै

फिल्मी फण्डा । भारतका चर्चित  गायक सोनु निगमले आगामी डिसेम्बर २५ अर्थात् पुस १० मा काठमाडौंमा सांगीतिक प्रस्तुति दिने भएका छन् । क्रिसमसको अवसरमा ‘सोनु निगम लाइभ इन नेपाल’ नाममा हुने उक्त कन्सर्ट नेपाली टच-नेपालले आयोजना गर्न लागेको हो ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कार्यक्रमको औपचारिक घोषणा गरिएको हो । नेपाली टचले विगत १५ वर्षदेखि अस्ट्रेलियामा विभिन्न इभेन्ट गर्दै आइरहेकोमा नेपालमा पहिलो पटक सांगीतिक कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रममा नेपाली टच ‍नेपालका प्रमुख राजकुमार गोस्वामीले अस्ट्रेलियामा कार्यक्रम गर्दै आएकोमा नेपालमा पनि सोही अनुसार कार्यक्रम गर्ने योजनाअनुसार सांगीतिक कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

‘हामीले १४-१५ वर्षदेखि अस्ट्रेलियामा कार्यक्रम गरिरहेका छौं । आफ्नै देशमा किन इभेन्टहरु नगर्ने भनेर नेपालमा एउटा इभेन्ट गर्ने कोसिस गरेको हो’ उनले भने, ‘हामीले एउटा कार्यक्रम गरायौं भने नेपालसँग अन्तर्राष्ट्रिय कलाकारलाई जोड्ने माध्यम बन्छ । यहाँको सँगै बलिउडको कला-संस्कृतिलाई जोड्ने यो महत्वपूर्ण माध्यम हुनेछ । यसले नेपाली पर्यटनमा पनि सहयोग गर्ने आशा हामीले राखेका छौं ।’

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech