फिल्मी फण्डा। प्रदीप शाहीको निर्देशनमा बनेको फिल्म ‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका कलाकारका सम्पूर्ण कलाकार टिम लगाएत अन्य संघ संस्थाका प्रतिनिधि तथा संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो। सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य पात्रहरु विजय लामा,दीया पुन,रेश्मा घिमिरे, एवनराज उप्रेती,त्रिचु राई,विशाल पहारी, कृष्णभक्त महर्जनलाई स्थान दिइएको छ।
साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको फिल्ममा भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको फिल्म सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । ‘मर्डर मिस्ट्रि ’को कथालाई फिल्ममा समावेश गरिएको छ ।
अभिनेता लामाले यो फिल्मको कथावस्तु नितान्त नयाँ रहेको बताए । कार्यक्रममा बोल्दै लामाले भने ‘यो फिल्म हाम्रो आफ्नो कथा हो । नेपालीहरुको कथा हो । यसमा रहस्य पनि छ । यसमा परम्परा पनि छ । यसमा इमोशन पनि छ’ उनले भने, ‘एकदमै मेहनत गरेका छौं । दर्शकहरुले रुचाउनुहुन्छ भन्ने पूर्ण विश्वास छ ।’ निर्माता, निर्देशक र अभिनेताले समेत जोखिम मोलेर काम गरेको अनुभव उनले सुनाए ।
कार्यक्रममा बोल्दै दीयाले आफुले पहिले पहिले गरेको आफ्नो क्यारेक्टर भन्दा ‘अन्तिम संस्कार’ मा आफ्नो भूमिका फरक रहेको बताइन्। निर्देशक प्रदीप शाहीले आफुले लामो समय लन्डन बस्दा सिकेको कुरालाई फिल्ममा सक्दो उतार्ने कोशिश गरेको बताए। नेपालमा विदेशी फिल्मको वितरण गर्दै आएको कम्पनी एप्पल इन्टरटेनमेन्टले यो फिल्मलाई देशव्यापी वितरण गर्नेछ । यो फिल्म सामाजिक तथा सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । एक हत्या घटनाको रहस्यको वरपर कथा बुनिएको छ ।
फिल्मलाई प्रदीप शाहीले निर्देशन गरेका हुन् । शाहीको निर्देशनमा बनेको पहिलो फिल्म ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ अमेजन प्राइममा समेत रिलिज भइ सकेको छ । फिल्ममा विजय लामा,दीया पुन,रेश्मा घिमिरे, एवनराज उप्रेती,त्रिचु राई,विशाल पहारी, कृष्णभक्त महर्जन,श्याम राई,पासाङ्ग लामा,बिकाश अधिकारी,सरोज खालिङ्ग राइ,सस्मिता गिरी,दिग्गज खत्री,सरोज कुमाल,धर्मानन्द आचार्य लगाएतको अभिनय रहेको छ। बाबु श्रेष्ठको छायाँकन,रुपेश गुरुङको सम्पादन रहेको यस फिल्मको प्रोडक्सन डिजाईनर प्रेम खड्का हुन् ।
तस्विर सुरेन्द्र थापा