वी विजयेन्द्र प्रसादको लेखनमा टाइगर श्राफलाई लिएर एक्सन फिल्म बनाउँदै छन् कबीर खान

फिल्मी फण्डा।। बलिउडका  सलमान खानसँग एक था टाइगर र बजरंगी भाइजान जस्ता जबरजस्त हिट दिएका निर्देशक कबीर खानले यङ्ग एक्सन स्टार टाइगर श्राफसँग नयाँ फिल्ममाथि छलफल शुरु गरेका छन् । हिन्दुस्तान टाइम्समा छापिएको खबरका अनुसार कबीर र टाइगरबिच नयाँ प्रोजेक्टबारे छलफल सकारात्मक ढंगले अगाडि बढिरहेको छ । खबरका अनुसार यो फिल्म टाइगरको एक्सन इमेजसँग ठ्याक्कै मेल खाने खालको छ ।

‘कबीर आफ्नो नयाँ प्रोजेक्टमा टाइगरलाई कास्ट गर्न चाहन्छन् । अनि उनीसँग सक्रिय रुपमा छलफल भइरहेको छ । यो फिल्मको काहानीबारे धेरै कुरा बाहिर आएको छैन । तर यो उत्तरपूर्वमा सेट हुने एक्सन प्रोजेक्ट हुनेछ ।’ सूत्रलाई उद्धृत गर्दै समाचारमा भनिएको छ । कबीरले टाइगरका लागि सोचेको रोल उनको विद्यमान छवि सुहाउँदो भएको बताइएको छ । टाइगरले यो फिल्ममा साइन गरिसकेका छैनन् । यसबारे छलफल जारी छ ।

यो फिल्मको कहानी बजरंगी भाइजान लेखेका वी विजयेन्द्र प्रसादले लेखिरहेको बताइएको छ । प्रसाद भारतीय सिनेमाका सर्वाधिक नाम चलेका लेखकमध्ये एक हुन् । उनी साउथका चर्चित निर्देशक एस एस राजामौलीको पिता हुन् । राजामौलीका फिल्म बाहुबली र आरआरआरको कहानी पनि प्रसादले नै लेखेका हुन् । प्रसादले बजरंगी भाइजानको कहानी राजामौलीलाई सुनाएका थिए । तर उनी त्यतिबेला बाहुबलीमा व्यस्त थिए । छोराले नभ्याउने भएपछि उनले यो कहानी कबीर खानलाई दिए । बजरंगी भाइजान सलमानको करियरको सबैभन्दा ठुलो हिट बन्यो ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech