डरलाग्दो कथा र प्रभासको मुख्य भूमिकामा फिल्म ‘द राजा साब’ बन्दै 

फिल्मी फण्डा । सोमबार सामाजिक सञ्जालबाट प्रभासले आफ्नो नयाँ फिल्म ‘द राजा साब’ निर्माणको घोषणा गर्दै पहिलो झलक सार्वजनिक गरेका छन् । पोस्टमा उनी अनुहारमा मुस्कान र रंगीन लुंगी लगाएको स्वरुपमा छन् । यो रोमान्टिक–हरर ड्रामालाई निर्देशक मारुती दासरीले निर्देशन गर्नेछन् । 

दुई दिनअघि प्रभासले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा आफ्नो आगामी फिल्म ‘कल्की २८९८ एडी’ मे ९ मा रिलिज हुने जानकारी दिएका थिए ।

नयाँ फिल्म ‘द राजा साब’ घोषणापछि फ्यानले उनलाई बधाई दिइरहेका छन् । एक फ्यान लेख्छन्, ‘रिबेल मोड खत्तम, डार्लिङ मोड सुरु ।’ अर्का फ्यानले यो फिल्मलाई ब्लकबस्टर भनेका छन् । पोस्टरमा प्रभास खाली सडकमा डान्स पोजमा देखिएका छन् । पछाडि आतिशबाजीको वातावरण देखिन्छ ।’

फिल्ममा प्रभासलाई सानदार लुक्समा प्रस्तुत गरिने निर्माण पक्षले जनाएको छ । रोमान्टिक–हरर जनरामा फिल्म बन्न लागेको हो जसमा दर्शकले भरपुर मनोरञ्जन पाउने जनाइएको छ । फिल्म पाँच भाषामा रिलिज हुनेछ ।

फिल्मका निर्देशक मारुतीले भने, ‘द राजा साब’ मेरो अहिलेसम्मको सबैभन्दा महत्वाकांक्षी प्रोजेक्ट हो । प्रभास र पिपल मिडियासँगको सहकार्य निकै रोमाञ्चक छ । फिल्ममा प्रभासको उपस्थिति धेरै विशेष छ किनकि हाम्रो डरलाग्दो कथाको साथ पर्दामा उनको शक्तिशाली उपस्थितिले दर्शकलाई निश्चित रूपमा चकित पार्नेछ ।’

यो फिल्मको संगीत थमन एसले दिएका हुन् । एसएस राजामौलीको ‘मगधीरा’ र ’बाहुबली’ फ्रेन्चाइजीमा भीएफएक्स गरिसकेका कमल कन्ननले यसमा पनि सोही भूमिका निर्वाह गर्दैछन् । फिल्मका निर्माता टीजी विश्व प्रसाद हुन् । फिल्म पिपल मिडिया फ्याक्ट्रीको ब्यानरमा रिलिज हुनेछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech