हलिउड अभिनेता ब्रुस डर्नले हरिवंश आचार्य र दयाहाङ राईसँग नेपाली फिल्म ‘भूठान’मा अभिनय गर्ने

फिल्मी फण्डा । हलिउड अभिनेता ब्रुस डर्नले नेपाली फिल्म ‘भूठानः द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’मा अभिनय गर्ने भएका छन् । दुईपटक ओस्कार मनोनित अभिनेताले हरिवंश आचार्य र दयाहाङ राईसँगै फिल्म खेल्न लागेको भेराइटी म्यागजिनले जनाएको छ ।

विनोद पौडेलको निर्देशनमा यो फिल्मको छायांकन अहिले अमेरिकामा भइरहेको छ । फिल्मले नेपालबाट पुनर्वास भएर अमेरिकाको पेन्सिलभेनिया र ओहायो क्षेत्रमा बसोबास गरेका नेपालीभाषी भुटानीको दुर्दशा र विस्थापनसँग संघर्षको कथा पेश गर्छ ।

सन् २०१९ मा पौडेल निर्देशित फिल्म ‘बुलबुल’ नेपालबाट ओस्कारको अन्तर्राष्ट्रिय फिचर विधाका लागि सिफारिस भएको थियो । राई अभिनित ‘गाउँ आएको बाटो’ सन् २०२३ मा टोरन्टो, बुसान र मुम्बई फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो । आचार्य अभिनित ‘महापुरुष’ सन् २०२२ को धेरै कमाउनेमध्येको फिल्म हो ।

नेपालीमा ‘भूठान’ र अंग्रेजीमा ‘द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ शीर्षक राखिएको फिल्म सन् २०१९ मा दक्षिण कोरियाको बुसान एसियन प्रोजेक्ट मार्केटमा ‘एक्रोन इन्टरनेसनल’ टाइटलमा पिचिङ भएको थियो ।

यो फिल्ममा नेपाल र अमेरिकाका निर्माताको संयुक्त लगानी छ । फिल्मको निर्मातामा राजेन्द्र ठकुराठी, अमिताभ जोशी र अविरल थापासँगै एलएन अधिकारी, कौशिला कर्माचार्य, रमेश भट्ट र अपार श्रेष्ठ छन् ।

अभिनेता डर्न सन् १९७९ को फिल्म ‘कमिङ होम’ र सन् २०१३ को ‘नेब्रास्का’बाट ओस्कार अवार्डमा मनोनित भएका थिए । ‘नेब्रास्का’बाट उनले कान्समा सर्वश्रेष्ठ अभिनेताको अवार्ड जितेका थिए ।

‘भूठान’को छायांकन यतिबेला अमेरिकाको एक्रोन, ओहायो र त्यस वरपर छायांकन भइरहेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech