फिल्मी फण्डा । लोक रक ब्यान्ड नेपथ्यको नयाँ गीत ‘पचासै वर्षमा’ सार्वजनिक भएको छ ।
आफ्ना सिर्जनामा नयाँ–नयाँ प्रयोग रुचाउने अमृतले यस गीतको बीचमा मन्त्र पाठको भावना पनि समेटेका छन् । पछिल्लो समय नेपथ्यका अन्य गीतजस्तै यस गीतको रेकर्डिङ पनि नेपालयकै कालिकास्थानस्थित स्टुडियोमा गरिएको हो । त्यसका लागि प्राविधिक हिसाबबाट साउन्ड इन्जिनियर इमनविक्रम शाहले सघाएका छन् ।
गीतलाई नवीन जोशीले म्युजिक भिडियोका रूपमा ढालेका हुन् । नेपथ्यको सर्वाधिक चर्चितमध्ये एक ‘रेशम’ गीतको म्युजिक भिडियो दुई दशकअघि बनाएका नवीनले ब्यान्डका लागि तयार पारेको यो दोस्रो म्युजिक भिडियो हो । नेपालको विज्ञापन क्षेत्रका परिचित डिजाइनर–निर्देशक नवीन सन् २००२ देखि ब्यान्डसँगको सहकार्यमा छन् । नेपथ्यका पोस्टर डिजाइन लगायतका सिर्जनामा नवीनको संलग्नता रहँदै आएको छ ।
‘पचासै वर्षमा’ को म्युजिक भिडियोमा अखबारका कटिङहरूमार्फत नेपथ्य ब्यान्डको यात्रालाई पनि देखाइएको छ ।
नेपथ्यको एघारौँ एल्बमका लागि तयारी चलिरहेको बेला ब्यान्डले यो नयाँ गीत सार्वजनिक गरेको हो । पालैपालो गरेर गीत सार्वजनिक गर्दै जाने नीतिअनुसार गत वर्ष यसै एल्बमको ‘भटभटे’ गीत सार्वजनिक गरिएको थियो ।