अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ हिट फिल्मको पर्खाइमा

फिल्मी फण्डा । अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठको फिल्म करिअर लगभग ८ वर्ष पुग्दैछ । यसबीच उनले ९ फिल्म खेलिन् जसमा दुई हिट भए । डेब्यु फिल्म ‘गाजलु’ र ‘पोइ पर्‍यो काले’बाट उनले प्रशंसा बटुलिन् ।सम्भवतः यसवर्ष सृष्टि अभिनित ‘द रेड सुटकेस’ पनि रिलिज हुनेछ । भेनिसमा प्रिमियर भएको यो फिल्मले अन्तर्राष्ट्रिय मिडियामा चर्चा पाइसकेको छ । यस्तोमा, शनिबारदेखि सृष्टिको नयाँ फिल्म ‘११ः५५’को छायांकन सुरु हुँदैछ ।

उनी भन्छिन्- मलाई स्क्रिप्ट एकदमै मन परेको थियो । उहाँहरू एउटा राम्रो फिल्म बनाउने भन्ने उद्देश्य बोकेर आउनुभएको महसुस गरेँ किनकी म केही दिनदेखि वर्कशपमा छु । हामी सम्पूर्ण कलाकार के गर्दैछौँ भन्नेमा स्पष्ट छौँ । अब अगाडि के होला भन्ने जिज्ञासा बोकेर कथा पढ्ने गर्थे । मलाई क्राइम थ्रिलर फिल्म मन पर्ने भएकाले पनि यो राम्रो स्क्रिप्ट हो भन्ने बुझेकी छु । यसले दर्शकमा निकै कौतुहलता जगाउँछ र सोचेभन्दा फरक तर्फ कथा अगाडि बढ्छ ।’

एउटा कलाकारको लागि फिल्मको सफलता महत्वपूर्ण हो । यसअर्थमा सृष्टिलाई लाग्छ, ‘११ः५५’ले नेपाली फिल्ममा एउटा मानक सिर्जना गर्छ । शान्त र निर्दोषपन पोतिएको अभिनय गर्न रुचाउने सृष्टिको व्यक्तित्वभन्दा भिन्न जनरामा बन्न लागेको यो फिल्म बक्स अफिसमा हिट पनि जरुरी छ । उनको पछिल्लो फिल्म ‘प्रेमा’ले बक्स अफिसमा कमाल देखाउन सकेन । ‘द सेक्रेट्स अफ राधा’ले समीक्षात्मकरुपमा राम्रो चर्चा त बटुल्यो तर रिलिज भएको केही दिनमै निर्माताले फिल्म उतारे । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech