‘कंगाल करोडपति’मा रक्षा र मञ्जिलकुमारको इन्ट्री, बलियो बन्दै कलाकारको लाइनअप

फिल्मी फण्डा। निर्देशक राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कंगाल करोडपति’मा अभिनेत्री रक्षा थापा र अभिनेता मञ्जिलकुमार अनुबन्धित भएका छन् । रक्षा र मञ्जिलको प्रवेशसँगै फिल्मको कलाकार टोली थप बलियो बनेको छ ।


रक्षाले फिल्म ‘बाटो’बाट अभिनय यात्रा सुरु गरेकी हुन् । उनको पछिल्लो रिलिज फिल्म ‘बेहुली फ्रम मेघौली’ हो । उनी अभिनीत फिल्म ‘मास्टर्नी’ यही भदौ ५ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
मञ्जिलकुमारले भने ‘कोसेढुङ्गा’बाट नेपाली फिल्ममा डेब्यु गरेका हुन् ।


सिनेमा पाठशाला प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा यसअघि नै अभिनेता मुकुन भुसाल, अभिनेत्री सलिना तामाङ तथा अभिनेता रेयर राई अनुबन्धित भइसकेका छन् । मुकुन र सलिना फिल्ममा मुख्य भूमिकामा देखिनेछन् । सलिनाले यही फिल्मबाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्न लागेकी हुन् ।


फिल्मको कथा तथा पटकथा सुमन गजमेरले लेखेका हुन् । निर्माण पक्षले कलाकार छनोटको प्रक्रिया अघि बढाउँदै छायांकनको तयारीसमेत गरिरहेको छ । फिल्मका लागि विभिन्न स्थानमा लोकेसन रेकी भइरहेको निर्माण पक्षले यसअघि नै जनाएको थियो ।


‘कंगाल करोडपति’का प्रस्तुतकर्ता प्रविन आचार्य तथा निर्माता अनिलकुमार बुढाथोकी हुन् । सहनिर्मातामा छिरिङ तामाङ, प्रविन राई र प्रवेश सापकोटा रहेका छन् । रीता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसरका रूपमा आबद्ध छन् ।
मुकुन भुसाल, सलिना तामाङ, रेयर राई, रक्षा थापा र मञ्जिलकुमारजस्ता कलाकारको सहभागिताले ‘कंगाल करोडपति’प्रति दर्शकको चासो थप बढ्ने देखिएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech