फिल्मी फण्डा ।एआईबाट नक्कली भिडियो बनाएर आफ्नो चरित्रहत्या गर्ने प्रयास भएको भन्दै नायिका तथा मोडल अदिती बुढाथोकीले आपत्ति जनाएकी छिन ।
बुधबार इन्स्टाग्रामबाट वक्तव्य जारी गर्दै अदितीले एआईको दुरुपयोग गरेर नक्कली भिडियो बनाइएको र यसरी आफ्नो चरित्र हत्या गरिएको भन्दै आपत्ति जनाएकी हुन् । खासगरी सामाजिक सञ्जाल स्न्यापच्याटबाट आफ्ना नक्कली तस्वीर र भिडियो सेयर गरेर दुःख दिने काम भएको उनको भनाइ छ ।
उनी लेख्छिन्, ‘अरु मान्छेलाई खसाल्न केही मान्छेहरुले प्रयास गरेको देख्दा निकै स्तब्ध र दुःखलाग्दो देखिन्छ । लामो समयदेखि अहिलेसम्म म यस्तो हर्कत र परिस्थितिलाई सामना गरिरहेकी छु । मैले सकेसम्म यस्तो प्रयासलाई रोक्ने पनि प्रयास गरेकी छु । नक्कली स्न्यापच्याट आईडीबाट यस्तो काम भइरहेको छ । साथै एआई र अरु गलत भिडियोको मद्दतबाट मेरो चरित्र हत्या गर्ने प्रयास भइरहेको छ ।’
अदिती बुढाथोकी मात्र होइन पछिल्लो महिना नाम चलेका बलिउड अभिनेत्रीहरु काजोल, आलिया भट्ट र रश्मिका मन्दाना एआईद्वारा निर्मित डीप–फेक भिडियोको सिकार बने ।