यस वर्षको ओस्कार अवार्डलाई जिमी किमेलले होस्ट गर्ने

फिल्मी फण्डा । हलिउड टेलिभिजन स्टार जिमी किमेलले सन् २०२३ को ओस्कार अवार्ड होस्ट गर्ने भएका छन् । ओस्कार आयोजक एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले किमेललाई चौथो पटक होस्टको जिम्मेवारी दिएको हो ।

एमी अवार्ड विजेता समेत रहेका किमेलले यसअघि २०१७, २०१८ र २०२३ मा ‘जिमी किमेल लाइभ’ कार्यक्रमको रुपमा ओस्कार होस्ट गरेका थिए । ‘चार पटक ओस्कार होस्ट गर्ने सपना मैले सधैं देख्ने गरेको थिएँ,’ उनले एक वक्तव्यमा भनेका छन्, ‘यस वर्ष पनि ओस्कारको हिस्सा हुन पाउँदा आफूलाई सम्मानित महसुस गरेको छु ।’

‘होस्टको रुपमा जिमीको पुनरागमनलाई लिएर हामी उत्साहित छौं,’ एकेडेमीका सीईओ तथा प्रमुख बिल क्रेमरले भने, ‘संसारभर छरिएका हाम्रा दर्शकसामु गतिशील र मनोरञ्जनात्मक कार्यक्रमको पहुँच पुर्‍याउने हाम्रो प्रतिबद्धता र फिल्मप्रतिको प्रेम साझा गर्न पाउँदा हामी खुसी छौं ।’

सन् २०२३ मा ओस्कार अवार्ड कार्यक्रमका दर्शकको संख्यामा वृद्धि भएको देखिन्छ । सो वर्ष १८।८ मिलियन दर्शकले कार्यक्रम हेरेको भनिएको छ, जुन अघिल्लो वर्षको भन्दा १३ प्रतिशतले वृद्धि हो । यो संख्या सन् २०२३ मा भएका ग्रामी र एमी अवार्ड कार्यक्रमको भन्दा दोब्बर हो ।

यस वर्ष लोकप्रिय फिल्मले ओस्कारमा प्रतिस्पर्धा गर्दैछन्, जसमा ‘बार्बी’ र युनिभर्सल पिक्चर्सको ‘ओपेनहाइमर’ छन् । एकै दिन रिलिज भएका यी दुवै फिल्मलाई संयुक्त रुपमा ‘बार्बेनहाइमर’ भनियो, जसले गृष्म ऋतुमा संसारभरका फिल्म हल र पप संस्कृतिलाई कब्जा गरे ।

यस वर्ष अमेरिकी फिक्सन फिल्म ‘किलर्स अफ द फ्लावर मुन’, माएस्ट्रो र पुअर थिंग्स जस्ता चर्चित फिल्मले सर्वश्रेष्ठ फिल्म विधामा प्रतिस्पर्धा गर्दैछन् । यी फिल्म अन्य प्रतिस्पर्धीलाई भारी पर्ने अनुमान छ ।

९६ औं ओस्कार अवार्ड १० मार्च २०२४ मा आयोजना हुँदैछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech