फिल्मी फण्डा । हलमा प्रदर्शन भैइरहेको फिल्म दिमाग खराब आउँदो शुक्रवारबाट रिलिज रोक्ने चेतावनी निर्माण कम्पनी सिनेमा आर्ट र ब्ल्याक हर्स पिक्चर्सले दिएको छ । चलचित्र संघका सदस्यहरु अर्थात हलवालाहरुले बिदेशी फिल्म र दिमाग खराबलाई बराबर शो नदिएको निर्माण पक्षले दाबी गरेको छ । यस्तै पहिलो हप्ता र दोस्रो हप्ता जस्तै अरु हप्ता पनि अर्थात नेपाली फिल्म रिलिज भएसम्म हल र निर्माताको सेयर प्रतिशत ५०-५० प्रतिशत बराबर हुनुपर्ने माग पनि दिमाग खराब टिमले राखेको छ ।
फिल्मका निर्माता रौनकविक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले विज्ञप्ति जारी गर्दै सो मागहरु पुरा नभए शुक्रवारबाट हलबाट फिल्म निकाल्ने जनाएको हो । हाल सलमान खान अभिनित टाईगर नेपालभर रिलिज भैइरहेको छ । टाईगर ३ लाई अत्याधिक शो दिएपछी दिमाग खराब टिमले विज्ञप्ति जारी गरेको हो ।
निश्चल बस्नेतले भनेका छन् - ‘उत्साहका साथ मानिसहरु आइरहनु भए पनि कम शोमा चित्त बुझाउनुपर्ने ? जबसम्म हाम्रो लगानी सुरक्षित गर्ने वातावरण पाउँदैनौं, तबसम्म फिल्म चलाउँदैनौं । बरु वैकिल्पक विधिबाट फिल्म देखाउँछौं ।’
विदेशी फिल्मले १० वटा शो पाउँदा फिल्म दिमाग खराबले ३ शो मात्रै पाएको छ । हलहरुले नेपाली फिल्मलाई प्राथमिकता नदिएकाले यस्तो निर्णय गर्नु परेको निश्चल बस्नेतले बताएका छन् । चार करोड लागतमा निर्माण दावि गरिएको दिमाग खराबले मंगलवारसम्म ग्रस ३.५ करोडको ब्यापार गरेको छ । 