मासिक २९९ रुपैयाँदेखि सदस्यता, सञ्चालनमा आयो ‘मेरोस्ट्रिम’

 नेपाली मनोरञ्जन सामग्रीलाई डिजिटल माध्यमबाट दर्शकमाझ पुर्‍याउने उद्देश्यसहित नयाँ ओटीटी प्लेटफर्म ‘मेरोस्ट्रिम’ आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। सदस्यता शुल्कमा आधारित यस प्लेटफर्ममा दर्शकले एउटै सदस्यतामार्फत फिल्म, वृत्तचित्र, लघुचलचित्र, शो र वेब सिरिज हेर्न सक्नेछन्।

नेपालमा इन्टरनेट र स्मार्टफोनको पहुँच बढ्दै गए पनि नेपाली सामग्रीका लागि भरपर्दो र व्यवस्थित डिजिटल मञ्चको अभाव कायमै छ। आफ्नै भाषा र संस्कृतिका सामग्री हेर्न चाहने दर्शकले कहिले युट्युबमा छरिएका भिडियो खोज्नुपर्ने त कहिले फिल्म हलमा सीमित समयका लागि प्रदर्शन हुने सामग्री कुर्नुपर्ने अवस्था छ। यही अभाव पूरा गर्ने उद्देश्यले मेरोस्ट्रिम सञ्चालनमा आएको हो।

मेरोस्ट्रिमले दर्शकको आवश्यकता र खर्च गर्ने क्षमताअनुसार बेसिक, स्ट्यान्डर्ड र प्रिमियम गरी तीन सदस्यता योजना ल्याएको छ।

बेसिक: एक्लै हेर्ने दर्शकका लागि तयार गरिएको यो योजनाको मासिक शुल्क २९९ रुपैयाँ छ। यसमा १०८०पी (फुल एचडी) गुणस्तरमा एकपटकमा एउटा डिभाइसमा सामग्री हेर्न सकिन्छ। तीन महिनाका लागि ८४९ रुपैयाँ, छ महिनाका लागि १ हजार ६०९ रुपैयाँ र वार्षिक सदस्यताका लागि २ हजार ८६९ रुपैयाँ तिर्नुपर्नेछ।

स्ट्यान्डर्ड: दम्पती तथा साना परिवारलाई लक्षित यो योजनाको मासिक शुल्क ३९९ रुपैयाँ छ। यसमा १०८०पी (फुल एचडी) गुणस्तरमा एकैसाथ दुईवटा डिभाइसमा हेर्न सकिन्छ। तीन महिनाको सदस्यता १ हजार १२९ रुपैयाँ, छ महिनाको २ हजार १४९ रुपैयाँ र वार्षिक सदस्यता ३ हजार ८२९ रुपैयाँमा उपलब्ध छ।

प्रिमियम: परिवारका लागि तयार गरिएको र प्लेटफर्मले ‘लोकप्रिय’ भनेको यस योजनाको मासिक शुल्क ५९९ रुपैयाँ छ। यसमा उपलब्ध सामग्रीअनुसार फोरके (4K) अल्ट्रा एचडी गुणस्तरमा हेर्न सकिन्छ भने एकैसाथ चारवटासम्म डिभाइसमा चलाउन मिल्छ। तीन महिनाका लागि १ हजार ६९९ रुपैयाँ, छ महिनाका लागि ३ हजार २२९ रुपैयाँ र वार्षिक सदस्यताका लागि ५ हजार ७४९ रुपैयाँ शुल्क तोकिएको छ।

प्लेटफर्मका अनुसार तीनवटै योजनामा विज्ञापनबिना सामग्री हेर्न सकिन्छ। एउटै खातामा चारवटासम्म प्रोफाइल बनाउन र क्रोमकास्ट वा एयरप्लेमार्फत टिभीमा सामग्री हेर्न पनि सकिन्छ। लामो अवधिको सदस्यता लिँदा मासिक योजनाको तुलनामा सस्तो पर्छ। छ महिनाको योजनामा १० प्रतिशत र वार्षिक योजनामा २० प्रतिशतसम्म बचत हुने प्लेटफर्मले जनाएको छ। सामग्री हेर्न थप शुल्क, भाडा वा क्रेडिट आवश्यक पर्दैन। कुनै सम्झौता वा सेटअप शुल्क पनि लाग्दैन।

मेरोस्ट्रिमका अनुसार एउटै सदस्यताबाट प्लेटफर्ममा उपलब्ध सबै सामग्री हेर्न सकिन्छ। नयाँ सामग्री हरेक हप्ता वा महिना थपिँदै जानेछ। केही सामग्री निश्चित देशका लागि मात्र प्रसारण अनुमति लिइएका हुन सक्ने भएकाले दर्शकले आफू रहेको देशमा उपलब्ध सामग्री मात्र हेर्न पाउनेछन्। यात्रामा रहेका दर्शकले पनि आफू पुगेको देशमा उपलब्ध सामग्री हेर्न सक्नेछन्।

भिसा, मास्टरकार्ड र अमेरिकन एक्सप्रेसमार्फत जुनसुकै देशबाट भुक्तानी गर्न सकिन्छ। नेपालसहित केही अन्य देशमा खल्ती र इसेवाबाट नेपाली रुपैयाँमै भुक्तानीको सुविधा छ। कार्डबाट गरिएको भुक्तानी प्रत्येक बिलिङ अवधिको अन्त्यमा स्वतः नवीकरण हुन्छ। यसले सदस्यता निरन्तर कायम राख्न मद्दत गर्नेछ। खल्ती र इसेवाबाट गरिएको भुक्तानी भने स्वतः नवीकरण हुँदैन। सदस्यता अवधि सकिएपछि प्रयोगकर्ताले पुनः भुक्तानी गर्नुपर्नेछ। म्याद सकिनुअघि प्लेटफर्मले सम्झना गराउने जनाएको छ।

सदस्यता रद्द गर्न प्रयोगकर्ताले खाता सेटिङमा गएर त्यसको विकल्प छनोट गर्न सक्नेछन्। रद्द गर्दा कुनै शुल्क लाग्ने छैन। सदस्यता रद्द गरे पनि भुक्तानी गरिएको अवधि नसकिएसम्म सामग्री हेर्न पाइनेछ। त्यसपछि भने सदस्यता नवीकरण हुनेछैन।

प्रिमियम योजनामा उपलब्ध सामग्री र डिभाइसले समर्थन गरेमा फोरके (4K) अल्ट्रा एचडीसम्मको गुणस्तरमा स्ट्रिमिङ गर्न सकिनेछ। उत्कृष्ट फोरके अनुभवका लागि करिब २५ एमबीपीएस इन्टरनेट गति सिफारिस गरिएको छ। सबै योजनामा इन्टरनेटको गतिअनुसार भिडियोको गुणस्तर स्वतः समायोजन हुने भएकाले कमजोर नेटवर्कमा पनि सामग्री हेर्न सकिने प्लेटफर्मको भनाइ छ।

सामग्रीले समर्थन गरेसम्म दर्शकले हेर्दाहेर्दै सबटाइटल र अडियो भाषा परिवर्तन गर्न तथा प्लेब्याक गति मिलाउन सक्नेछन्। मोबाइल, ट्याब्लेट वा ल्यापटपमा ब्राउजरबाटै सामग्री हेर्न सकिन्छ। एउटा डिभाइसमा हेर्दै छाडेको ठाउँबाट अर्को डिभाइसमा निरन्तरता दिन सकिने सुविधा पनि रहेको टिमले जनाएको छ।

सुरुवाती चरणमा मेरोस्ट्रिममा विभिन्न विधाका सामग्री उपलब्ध हुनेछन्। जसमा फिल्म ‘कुमारी’ र ‘कथापुतली’, लघुचलचित्र ‘आमा’, ‘डल्स हाउस’ र ‘मिसिङ ब्राइड’, स्ट्यान्डअप कमेडी शो ‘मेरो माइक’ तथा ‘हजुर आमाको कथा’ रहेका छन्।

फिल्म हलको पहुँच मुख्यतः सहरी क्षेत्रमा सीमित छ। लघुचलचित्र, वृत्तचित्र र प्रयोगात्मक सामग्रीले हलमा पर्याप्त स्थान पाउन सकेका छैनन्। यसले स्वतन्त्र निर्मातालाई आफ्ना सिर्जना दर्शकमाझ पुर्‍याउन कठिन बनाएको छ। निःशुल्क प्लेटफर्ममा सामग्री राख्दा निर्माताले नियमित आम्दानी गर्ने भरपर्दो आधार पनि बन्न सकेको छैन।

विदेशी ओटीटी प्लेटफर्म उपलब्ध भए पनि तिनमा नेपाली सामग्री सीमित छन्। भुक्तानी प्रक्रिया जटिल हुनु र सदस्यता शुल्क नेपाली दर्शकका लागि महँगो पर्नु पनि चुनौतीका रूपमा रहेका छन्। यस्तो अवस्थामा एउटै सदस्यतामार्फत विभिन्न विधाका नेपाली सामग्री एकै ठाउँमा उपलब्ध हुँदा दर्शकले आफ्नो समय र सुविधाअनुसार घरमा वा यात्राका क्रममा हेर्न सक्नेछन्। यसले नेपाली निर्माता र कलाकारलाई आफ्ना सिर्जना दर्शकमाझ पुर्‍याउने नयाँ माध्यम उपलब्ध गराउनुका साथै सदस्यतामार्फत आम्दानीको स्थिर स्रोत विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। बहुभाषा र सबटाइटलको सुविधाले नेपाली सामग्री विदेशमा रहेका नेपाली समुदाय तथा अन्य भाषाका दर्शकसम्म पुर्‍याउनसमेत मद्दत गर्ने विश्वास गरिएको छ।

दर्शकले मेरोस्ट्रिमको वेबसाइटमा इमेल राखेर साइन अप गर्न, इमेलमा प्राप्त लिंकमार्फत खाता प्रमाणित गर्न, सदस्यता योजना छनोट गरी भुक्तानी गर्न सक्नेछन्। त्यसपछि तुरुन्तै सामग्री हेर्न सुरु गर्न मिल्नेछ। ब्राउजरबाटै प्रयोग गर्न वा एपका रूपमा इन्स्टल गरेर पनि सेवा लिन सकिन्छ। मेरोस्ट्रिम फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब, एक्स (ट्विटर) र लिङ्क्डइनमा समेत उपलब्ध छ।

नेपाली सामग्रीलाई विश्वव्यापी दर्शकमाझ पुर्‍याउने र स्थानीय सिर्जनशीलतालाई प्रोत्साहन गर्ने लक्ष्यसहित सञ्चालनमा आएको मेरोस्ट्रिमले आगामी दिनमा आफ्नो सामग्री सूची थप विस्तार गर्दै लैजाने जनाएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech