काठमाडौं । मंसिरको पहिलो साताबाट छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘एक्का तीन’मा अभिनेता सुशील श्रेष्ठ अनुबन्धित भएका छन् । निर्माण टिम र सुशीलबीच फिल्मका लागि औपचारिक सम्झौता भइसकेको छ ।
हाल फिल्म ‘साम्राज्य’को छायांकनमा रहेका सुशीलले मंसिरको पहिलो साताबाट ‘एक्का तीन’का लागि समय दिनेछन् । नेपाली फिल्म क्षेत्रमा एक्सन नायकको छवि बनाएका सुशीलको प्रवेशसँगै फिल्मको कलाकार लाइनअप थप बलियो बनेको छ ।
रुपेश तामाङको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि नै अभिनेत्री पूजा शर्मा र कविता नेपाली फाइनल भइसकेका छन् । एक्सन विधामा आफ्नो पहिचान बनाएका यी दुई अभिनेत्री र सुशीलको लाइनअपले फिल्ममा दमदार एक्सन रहने संकेत गरेको छ ।
सुमन गजमेरको कथा रहेको फिल्मलाई जुना फिल्म्सले निर्माण गर्दैछ ।
तर, फिल्ममा सुशीलको जोडी पूजा शर्मा वा कविता नेपालीमध्ये को बन्ने भन्ने विषयमा निर्माण टिमले केही खुलाएको छैन । त्यसैले ‘एक्का तीन’मा सुशीलको जोडी कोसँग बाँधिने हो भन्ने कौतूहल कायमै छ ।