‘पाँच पाण्डव’मा दीपाश्री फाइटर लेडी, भीमकी श्रीमती ‘सितर्नी’

काठमाडौं । अभिनेत्री दीपाश्री निरौलाले फिल्म ‘पाँच पाण्डव’मा आफ्नो भूमिका अहिलेसम्मकै फरक र सशक्त रहेको बताएकी छन् । दर्शकले आफूलाई यस फिल्ममा ‘फाइटर लेडी’का रूपमा देख्न पाउने उनको भनाइ छ ।

दीपाश्रीले फिल्ममा भीमकी श्रीमतीको भूमिका निर्वाह गरेकी छन् । भीमको भूमिकामा जितु नेपाल छन् ।

“यसपटक मेरो चरित्र अलिक फरक छ । यो अलिकति फाइटर टाइपको भूमिका हो,” उनी भन्छिन्, “मजदुरमाथि कसैले अन्याय गर्‍यो भने सबैभन्दा पहिले मेरा हातखुट्टा चल्छन् ।”

आफ्नो प्रवेशसँगै दर्शकबाट सिठी, ताली र हुटिङ आउनेमा उनी विश्वस्त छिन् ।

“डबिङ गर्दा नै मलाई यस्तो महसुस भएको थियो । मेरो प्रवेश हुने दृश्यहरू निकै धमाकेदार छन्,” दीपाश्री भन्छिन्, “ती दृश्यमा एकदमै जुझारु नारीको उपस्थिति महसुस हुन्छ । श्रीमान्लाई पनि सुरक्षा दिने र उनको पक्षमा उभिने भूमिका छ ।”

आफ्नो सिने करियरमा अहिलेसम्म निर्वाह गरेका भूमिकाभन्दा फरक भएकाले पनि उनले यसलाई नयाँ अनुभवका रूपमा लिएकी छन् ।

फिल्ममा उनको चरित्रको नाम ‘सितर्नी’ हो ।

“मेरो चरित्रको नाम ‘सितर्नी’ हो । फिल्ममा अरूलाई गाली गर्दा पनि म ‘सितर्नी’ भनेर गाली गर्छु,” उनी भन्छिन्, “मलाई लाग्छ, यो शब्द दर्शकको मुखमा झुण्डिनेछ ।”

बसन्त निरौलाको निर्देशनमा बनेको फिल्म यही कात्तिक २० गतेदेखि प्रदर्शनमा आउँदैछ । ‘पाँच पाण्डव’मा दीपाश्रीसँगै हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन् ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्ममा सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री)लगायत कलाकारको पनि अभिनय छ ।

फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए । फिल्मकी निर्माता काली रानी श्रेष्ठ हुन् ।

‘पाँच पाण्डव’को कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन् । लेखक पौडेलका अनुसार यो फिल्म सोसल ड्रामा विधामा आधारित छ । महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई प्रयोग गर्दै फिल्मले समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।

श्याम तामाङको छायांकन रहेको फिल्ममा सुप्रिम पराजुलीको सम्पादन र सम्राट बस्नेतको द्वन्द्व निर्देशन छ । गम्भीर विष्ट र विक्रम स्वाँरले कोरियोग्राफी गरेका छन् ।

फिल्ममा दर्शकले डल्बी एटमस साउन्डको अनुभव लिन पाउनेछन् ।

अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको बीजीएम र पुकार धिमालको भिएफएक्स रहेको फिल्ममा रोहित राज गौतम एचओपी र विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर छन् ।

फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल हो भने रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech