‘पाँच पाण्डव’मा इभा गिरीको द्रोपदी लुक्स

काठमाडौं । मल्टिस्टारर फिल्म ‘पाँच पाण्डव’को दोस्रो पोस्टर सार्वजनिक भएको छ । फस्र्टलुक पोस्टरमार्फत पाँच पाण्डवको चरित्र सार्वजनिक गरेको निर्माणपक्षले दोस्रो पोस्टरमार्फत द्रोपदीलाई रिभिल गरेको हो ।

फिल्ममा द्रोपदीको भूमिकामा इभा गिरी देखिएकी छन् । रातो भेषमा हल्का गहनासहित देखिएकी इभाको द्रोपदी लुक्स आकर्षक छ । महाभारतकी द्रोपदीको झल्को दिने रातो सोल्जर कट ब्लाउज र रातै सारीमा इभालाई प्रस्तुत गरिएको छ ।

पोस्टरको पृष्ठभूमिमा फिल्मका पाँच पाण्डवलाई राखिएको छ । पहिलो पोस्टरमा रथमा देखाइएका पाँच पाण्डवलाई दोस्रो पोस्टरको पृष्ठभूमिमा राखेर फिल्मका मुख्य पात्रलाई पुनः सम्झाउने प्रयास गरिएको छ ।

फिल्मको फस्र्टलुक पोस्टरमा युधिस्टिरको भूमिकामा हरिवंश आचार्य, भीममा जितु नेपाल, अर्जुनमा आर्यन सिग्देल, नहकुलमा महेश त्रिपाठी र सहदेवमा सुशील सिटौला देखिएका थिए ।

निर्देशक वसन्त निरौलाले इभा गिरीको द्रोपदी लुक्स दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन् । “हामीले यो सिनेमामा इभालाई द्रौपदीको क्यारेक्टरमा लिएका छौँ,” उनले भने, “उहाँ युवा पुस्तामा लोकप्रिय हुनुहुन्छ । हाम्रो सिनेमाको क्यारेक्टर पनि दर्शकले रुचाउनुहुनेछ भन्ने विश्वास छ ।”

तिहारको छेको पारेर कात्तिक २० गते अर्थात् नोभेम्बर ६ देखि रिलिज हुने तयारीमा रहेको ‘पाँच पाण्डव’को पोस्ट प्रोडक्सन अन्तिम चरणमा छ । फिल्मको सम्पूर्ण साउन्ड डल्बी एटमसमा तयार पारिएको निर्देशक निरौलाले बताएका छन् ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्ममा नेपाली फिल्म क्षेत्रका दिग्गजदेखि नयाँ पुस्ताका चर्चित कलाकारसम्म एकसाथ देखिँदैछन् ।

हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला पाँच पाण्डवको मुख्य भूमिकामा छन् । यस्तै, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री)लगायत कलाकारको पनि प्रमुख भूमिका रहेको छ ।

फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि ‘लाज शरणम्’ निर्माण गरेका थिए । फिल्मकी निर्माता काली रानी श्रेष्ठ हुन् ।

‘पाँच पाण्डव’को कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन् । लेखक पौडेलका अनुसार फिल्म ‘सोसल ड्रामा’ हो । महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै फिल्मले समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।

फिल्मलाई श्याम तामाङले खिचेका हुन् । सुप्रिम पराजुलीको सम्पादन, सम्राट बस्नेतको फाइट डाइरेक्सन तथा गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ ।

रङ्ग सम्पादन, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको बीजीएम, पुकार धिमालको भीएफएक्स, रोहित राज गौतमको एचओपी तथा विष्णु बुढाथोकीको प्रोडक्सन म्यानेजमेन्ट रहेको छ ।

फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech