फिल्मी फण्डा । विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’को स्यासिङ समारोह बिहीबार राजधानीमा सम्पन्न भएको छ । समारोहसँगै देशका विभिन्न स्थानबाट अडिसनमार्फत छनोट भएका २२ महिला औपचारिक रूपमा अन्तिम प्रतिस्पर्धी बनेका छन् ।
थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा प्रतिस्पर्धीहरूलाई विभिन्न क्षेत्रका व्यक्तित्वले ट्याग नम्बर र स्यास प्रदान गरेका थिए । प्रतियोगितामा गृहिणीदेखि डाक्टर, इन्जिनियर, बैंकर, व्यवसायी, नर्स तथा फेसन डिजाइनरसम्मको सहभागिता रहेको आयोजक रिवन इन्टरटेनमेन्टले जनाएको छ ।
मिसेस नेपाल वर्ल्ड २०२६ को ग्रान्ड फिनाले आगामी कात्तिक १४ गते नेपाल पुलिस क्लबमा आयोजना हुनेछ । विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
यस्तै, सोही मञ्चबाट मिसेस नेपाल इन्टरनेसनल, एमएस इन्टरनेसनल र मिसेस कोस्मोका विजेतासमेत चयन गरिनेछ । फिनालेअघि २२ प्रतिस्पर्धीले करिब ४५ दिन विभिन्न प्रशिक्षण तथा प्रतिस्पर्धात्मक गतिविधिमा सहभागी हुनेछन् ।