रजतवर्षको अवसरमा चलचित्र विकास बोर्डद्वारा रक्तदान कार्यक्रम सम्पन्न

फिल्मी फण्डा । चलचित्र विकास बोर्डको रजतवर्ष तथा बोर्डको २६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा चलचित्र विकास बोर्ड र Lions International District 325 F, MD 325, Nepal को संयुक्त आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

चलचित्र विकास बोर्ड परिसरस्थित फिल्म बोर्ड चोकमा आयोजित कार्यक्रममा फिल्म क्षेत्रसँग आबद्ध कलाकार, प्राविधिक, फिल्मकर्मी, बोर्डका पदाधिकारी, कर्मचारी तथा विभिन्न शुभेच्छुकहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले स्वेच्छिक रूपमा रक्तदान गर्दै मानव जीवनको संरक्षण तथा सामाजिक सेवामा महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

सामाजिक उत्तरदायित्व, मानवीय सेवा तथा रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले फिल्म क्षेत्र सिर्जना र मनोरञ्जनमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्व वहन गर्न पनि अग्रसर रहेको सन्देश दिएको बोर्डले जनाएको छ।

कार्यक्रममा रक्तदान गर्ने सबै रक्तदातालाई सम्मानस्वरूप प्रमाणपत्र प्रदान गरिएको थियो। साथै, T.U. Lions Blood Transfusion and Research Centre ले रक्तदान कार्यक्रम सफलतापूर्वक आयोजना गर्न तथा रक्तदानसम्बन्धी जनचेतना फैलाउन योगदान पुर्‍याएको भन्दै चलचित्र विकास बोर्डलाई Certificate of Appreciation प्रदान गरेको छ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी. ले यस्ता सामाजिक कार्यक्रमले चलचित्र क्षेत्र र समाजबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक हित, मानवीय सेवा तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने Lions International District 325 F, MD 325, Nepal, T.U. Lions Blood Transfusion and Research Centre, रक्तदाता, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्पूर्ण सहयोगीप्रति चलचित्र विकास बोर्डले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech