‘तिम्रो टिकट’ ई–टिकेटिङ एप सार्वजनिक, बि एण्ड बि टेक ग्रुपका नयाँ उद्यमको शुभारम्भ

फिल्मी फण्डा । बि एण्ड बि टेक ग्रुपले काठमाडौंको बालुवाटारस्थित रोयल एम्पायर बुटिक होटलमा आयोजित समारोहबीच ‘तिम्रो टिकट’ नामक ई–टिकेटिङ मोबाइल एप सार्वजनिक गरेको छ। साथै कम्पनीले आफ्ना नयाँ व्यावसायिक उद्यम तथा सहकार्य योजनाहरूको पनि औपचारिक घोषणा गरेको छ।

सन् २०१८ मा डा. विकाश लाम्साल र इन्जिनियर विमलकुमार केसीद्वारा स्थापना गरिएको कम्पनीले प्रविधि, अनुसन्धान, शिक्षा तथा मनोरञ्जन क्षेत्रलाई जोड्ने उद्देश्यसहित बि एण्ड बि टेक्निकल रिसर्च इन्स्टिच्युट, फिस्टेल एकेडेमी ब्रिज र हाकिम इन्टरटेन्मेन्टसँग सहकार्यको घोषणा गरेको हो।

कार्यक्रममा कम्पनीका अध्यक्ष डा. विकाश लाम्सालले आफ्नो व्यावसायिक तथा अनुसन्धान यात्राबारे जानकारी गराउँदै नेपालमा नवीन प्रविधि र अनुसन्धानलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यसैगरी कलाकार सुरेन्द्र गुरुङ (हाकिम) र फिस्टेल एकेडेमी ब्रिजका प्रमुख सञ्चीव अर्यालले पनि आफ्नो अनुभव तथा भावी योजनाबारे धारणा राखेका थिए।

कार्यक्रमको मुख्य आकर्षण ‘तिम्रो टिकट’ एपको सार्वजनिकरण रहेको थियो। कम्पनीका फुल–स्ट्याक डेभलपर आश्विन सुनारले एपका विशेषता प्रस्तुत गर्दै यसले विभिन्न कार्यक्रम, कन्सर्ट, खेलकुद तथा सांस्कृतिक गतिविधिको टिकट खरिद र व्यवस्थापन प्रक्रियालाई डिजिटल, सुरक्षित र सहज बनाउने बताए।

आयोजकका अनुसार उक्त सहकार्य तथा डिजिटल प्लेटफर्मले नेपालमा प्रविधि, अनुसन्धान, शिक्षा र इभेन्ट व्यवस्थापन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech