सुनसरीमा सातदिने अभिनयकला तालिम सम्पन्न, ५१ जना सहभागी

फिल्मी फण्डा  । थारु समुदायको भाषा, संस्कृति तथा मौलिक पहिचानलाई चलचित्रमार्फत प्रवर्द्धन गर्ने उद्देश्यले सुनसरीको झुम्कामा आयोजित सातदिने अभिनयकला तालिम सम्पन्न भएको छ।

चलचित्र विकास बोर्ड को सहकार्य तथा थारु चलचित्र तथा सांस्कृतिक संघ को आयोजनामा सम्पन्न तालिममा उदयपुर, सुनसरी, सिराहा, सप्तरी र मोरङका ५१ जना सहभागी भएका थिए।

तालिममा परशुराम चौधरीविजय सुब्बा ले अभिनयका सैद्धान्तिक तथा व्यावहारिक पक्षबारे प्रशिक्षण दिएका थिए। सहभागीलाई पात्र निर्माण, संवाद प्रस्तुति, हाउभाउ, भावभङ्गी तथा क्यामेरा अभिनयसम्बन्धी आधारभूत सीप प्रदान गरिएको आयोजकले जनाएको छ।

तालिमको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी ले गरेका थिए भने समापन समारोह बोर्डकी अधिकृत तथा आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिकी सदस्य-सचिव अप्सरा समाल को उपस्थितिमा सम्पन्न भएको थियो।

समापन कार्यक्रममा संघका अध्यक्ष परशुराम चौधरीले तालिमले थारु समुदायका प्रतिभावान युवाको क्षमता विकास तथा मातृभाषी चलचित्र क्षेत्रमा नयाँ जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

आयोजकका अनुसार यस्ता कार्यक्रमले स्थानीय प्रतिभालाई व्यावसायिक चलचित्र क्षेत्रमा प्रवेश गर्न थप अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech