फिल्मी फण्डा । लोकप्रिय हास्य टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’को सिजन–२ अन्तर्गत प्रसारण हुन लागेको एपिसोड–६० नेपाल प्रहरीलाई समर्पित विशेष ट्रिब्युट एपिसोडका रूपमा प्रस्तुत गरिने भएको छ।
कार्यक्रमका होस्ट तथा निर्देशक विशाल भण्डारीका अनुसार पछिल्लो समय विभिन्न घटनाक्रमका कारण नेपाल प्रहरीको मनोबलमा परेको प्रभावलाई ध्यानमा राख्दै प्रहरी कर्मचारीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले विशेष एपिसोड निर्माण गरिएको हो।
उक्त एपिसोडमा दानबहादुर कार्की विशेष अतिथिका रूपमा सहभागी भएका छन्। कार्यक्रममा एक सयभन्दा बढी प्रहरी कर्मचारी बर्दीसहित उपस्थित रहेको आयोजकले जनाएको छ।
विशेष एपिसोडमा कलाकारहरूले प्रहरी संगठनभित्रका विविध पक्षलाई हास्य तथा व्यंग्यात्मक शैलीमार्फत प्रस्तुत गरेका छन्। प्रहरी कर्मचारीहरूले आफ्नो व्यावसायिक जीवनमा सामना गर्ने चुनौती, पारिवारिक जिम्मेवारी, ड्युटीका क्रममा भोग्नुपर्ने दबाब तथा समाजमा शान्ति सुरक्षा कायम गर्न निर्वाह गर्ने भूमिकालाई विभिन्न स्केच र प्रस्तुतिमार्फत उजागर गरिएको निर्देशक भण्डारीले जानकारी दिए।
आयोजकका अनुसार एपिसोडले नेपाल प्रहरीको समर्पण, त्याग र सेवाभावप्रति सम्मान व्यक्त गर्नुका साथै संगठनभित्र सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। कार्यक्रम आगामी मंगलबार प्रसारण हुने जनाइएको छ।
विशेष एपिसोडको अध्यक्षता चर्चित कलाकार तथा निर्माता दीपाश्री निरौलाले गरेकी छन्। कार्यक्रममा सुमन कार्की, साजन श्रेष्ठ, भरतमणि पौडेल, सुमन कोइराला, कैलाश कार्की, मेक्सम गौडेल, प्रभात लामा, पवन भट्टराई तथा कर्मा सिंह लामालगायत कलाकारहरूले प्रस्तुति दिएका थिए।