फोटोग्राफी तालिमबाट युवालाई सीप र रोजगारीको अवसर

फिल्मी फण्डा । काठमाडौँ महानगरपालिका र चलचित्र विकास बोर्डको सहकार्यमा एक महिने फोटोग्राफी तालिम सुरु भएको छ। महानगरपालिकाको ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत सञ्चालन गरिएको तालिममा फोटोग्राफीसँगै फोटो तथा भिडियो पत्रकारिताका विषयमा प्रशिक्षण दिइनेछ।

चलचित्र विकास बोर्डको ‘क्षमता अभिवृद्धि वर्ष’ कार्यक्रमअन्तर्गत सञ्चालित तालिमले युवालाई सिर्जनशील सीपमार्फत स्वरोजगार तथा सञ्चार–चलचित्र क्षेत्रमा अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ। तालिममा क्यामेरा सञ्चालन, फोटो कम्पोजिसन, प्रकाश व्यवस्थापन, फोटो स्टोरी र भिडियो रिपोर्टिङलगायत विषय समेटिएका छन्।

प्रारम्भिक कार्यक्रममा काठमाडौँ महानगरपालिका, चलचित्र विकास बोर्डका प्रतिनिधि, प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। वरिष्ठ फोटोग्राफर प्रदीपराज वन्त, राजभाइ सुवाल तथा वरिष्ठ पत्रकार एवं फोटोग्राफर श्रीधर पौडेलले प्रशिक्षण दिनेछन्।

बोर्डले यस्ता सीपमूलक कार्यक्रमले चलचित्र, सञ्चार तथा दृश्य–कला क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech