फिल्मी फण्डा। नेपाल–चीन चलचित्र तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित काठमाडौंमा अवार्ड विजेता चिनियाँ चलचित्रहरूको विशेष प्रदर्शन कार्यक्रम सुरु भएको छ।
बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवअन्तर्गत ‘टियानतान अवार्ड प्यानोरामा’ कार्यक्रम मंगलबारदेखि ठमेलस्थित छाया सेन्टरमा सुरु भएको हो। चीन चलचित्र प्रशासन, बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको सहकार्यमा आयोजित कार्यक्रममा उत्कृष्ट ६ चिनियाँ चलचित्र प्रदर्शन गरिँदैछ।
कार्यक्रमको उद्घाटन सागर झान निर्देशित चलचित्र ‘ट्रयाप्ड’ प्रदर्शनसँगै गरिएको थियो। उद्घाटन समारोहमा नेपालका लागि चिनियाँ दूतावासका मिनिस्टर काउन्सिलर चउ पान, वरिष्ठ निर्देशक तुलसी घिमिरे, कलाकार संघका अध्यक्ष उत्तम केसी, निर्देशक समाजका अध्यक्ष अरुण प्रधान, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनलगायत चलचित्रकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले चलचित्रलाई दुई देशबीचको सांस्कृतिक सम्बन्ध विस्तार गर्ने प्रभावकारी माध्यमका रूपमा व्याख्या गर्दै यस्ता कार्यक्रमले नेपाल र चीनका चलचित्रकर्मीबीच सहकार्यका नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे।
प्रदर्शनपछि निर्देशक सागर झानसँग दर्शक तथा सञ्चारकर्मीहरूले अन्तरक्रिया गरेका थिए। उनले चलचित्र आफ्नो बाल्यकालका अनुभवबाट प्रेरित भए पनि कथा पूर्ण रूपमा काल्पनिक रहेको बताए।
पहिलो दिन ‘ट्रयाप्ड’सँगै ‘बियोन्ड द स्काइज’ र ‘समर डायरी’ पनि प्रदर्शन गरिएको थियो। आयोजकका अनुसार कार्यक्रम बिहीबारसम्म सञ्चालन हुनेछ र महोत्सवमा अवार्ड विजेता ६ चिनियाँ चलचित्र प्रदर्शन गरिनेछन्।
नेपालमा चिनियाँ चलचित्रको यस्तो विशेष प्रदर्शनले दुई देशबीचको सांस्कृतिक आदान–प्रदान तथा चलचित्र सहकार्यलाई थप गति दिने अपेक्षा गरिएको छ।